इन्स्टाग्रामले आउँदो वर्षदेखि ‘क्रोनोलोजिकल फीड’ शुरु गर्ने

Technology Khabar २३ मंसिर २०७८, बिहीबार

इन्स्टाग्रामले आउँदो वर्षदेखि ‘क्रोनोलोजिकल फीड’ शुरु गर्ने

काठमाडौं ।

मेटा अन्तर्गतको फोटो एप इन्स्टाग्रामले बुधबार आउँदो वर्ष एपमा क्रोनोलोजिकल फीडको फिचर शुरु गर्ने जानकारी दिएको छ।

यसअघि अल्गोरिदममा आधारित भएर फीड जाने गरेकोमा अब भने क्रोनोलोजिकल अर्थात् समयक्रमका आधारमा फीड जाने बनाउन लागेको बारेमा इन्स्टाग्रामका प्रमुखले अमेरिकी कंग्रेससमक्ष एपले बालबालिकाको साइबर सुरक्षामा चुनोति खडा गरेको विषयमा जवाफ दिने क्रममा बताएका हुन्।

इन्स्टाग्रामका कार्यकारी एडम मोसेरीसँग कानून निर्माताहरुले एपको अल्गोरिदम साथै उनीहरुले दिने र प्रयोगकर्तालाई सुझाउने सामग्ले के कस्तो प्रभाव पार्छ भन्नेबारेमा जानकारी माग गरिरहेका छन्।

ह्विशलब्लोअर फ्रान्सेस होगनले केही समयअघि कम्पनीका आन्तरिक दस्तावेज बाहिर ल्याएर कम्पनीले बालबालिकाको सुरक्षाका बारेमा बेवास्ता गरेको आरोप लगाएयता इन्स्टाग्राम तथा यसको मूल कम्पनी मेटामाथि नियामकहरुले यी प्लेटफर्ममा आउने सामग्रीहरुले मानसिक स्वास्थ्य, शारीरिक तस्बिर तथा कलिल यूजरहरुको सुरक्षालाई लिएर निकै सोधपूछ गरिरहेका छन्।

सिनेट प्यानलका अगाडि बोल्दै मोसेरीले इन्स्टाग्रामले क्रोनोलोजिकल फीडका लागि हप्तो अघिदेखि काम गरिरहेको र यसलाई सन् २०२२ को शुरुवातमा सार्वजनिक गर्ने लक्ष्य रहेको बताए।

सुनुवाइका क्रममा कानून निर्माताहरुले मोसेरीलाई बालबालिकाको सुरक्षाका लागि कस्तो खालको वैधानिक सुधारलाई सहयोग गर्ने भन्ने प्रश्न सोधेका थिए।

जवाफमा मोसेरीले बालबालिकाको सुरक्षा प्रत्याभूतिका लागि राज्यले एउटा औद्योगिक संरचना बनाउनु पर्ने सुझाव दिए।

उनले यसका लागि उमेर प्रमाणीकरण, उमेर सुहाउँदो अनुभव तथा प्यारेन्टल कन्ट्रोलको मापदन्ड कायम गर्न नागरिक समाज, अभिभावक तथा नियामकहरुबाट सुझाव तथा प्रतिक्रिया लिनुपर्नेमा जोड दिए।

easy care

प्रकाशित: २३ मंसिर २०७८, बिहीबार