साझाले तीनमहिना भित्र ४८ वटा विद्युतीय बस ल्याउँदै, यस्तो हुनेछ बसमा सुबिधा

Technology Khabar २४ भाद्र २०७८, बिहीबार

साझाले तीनमहिना भित्र ४८ वटा विद्युतीय बस ल्याउँदै, यस्तो हुनेछ बसमा सुबिधा
फाइल तस्बिर

काठमाडौं ।

साझा बसले थप सेवा विस्तार गर्न ४८ वटा विद्युतीय बस काठमाडौं ल्याउने तयारी अन्तिम चरण पुर्याएको छ । हाल ७१ वटा डिजलबाट गुड्ने गाडीले सेवा दिँदै आएको साझाले वातावरणमैत्री सवारीसाधन सञ्चालन गर्ने लक्षसँगै तीन महिनाभित्र बस काठमाडौं ल्याई सक्ने साझा वस सञ्चालक समितिका सदस्य भुषण तुलधारले जानकारी दिए ।

सन् २०३० सम्ममा विश्वबाट इन्धनबाट गुड्ने सवारीसाधनलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउने लक्ष्य राखेको छ । विद्युतीय सवारीसाधन प्रयोगलाई प्राथमिकता दिदै इन्धनबाट गुड्ने सवारीसाधनलाई विस्तापित गर्दै सन् २०३० सम्ममा विस्थापित गर्ने गरी नेपालले समेत सहमती जनाएपनि हाल विद्युतीय सवारीसाधन प्रयोगको दर भने बड्न सकेको छैन ।

साझा बसले चीनको सीएचटीसी कम्पनीबाट तत्काल ४० वटा बस खरिद गर्ने गरी टेन्डर स्वीकृत गरी सकेको तुलधारले जानकारी दिए। साझाले गरेको बोलपत्र आव्हानमा नौ वटा चिनियाँ कम्पनी सहभागी भएमध्ये सीएचटीसी किनवेन (नान्जिङ) कम्पनीलाई छनाेट गरेको जनाएको छ।

बसको क्षमता र फर्ममेन्स हेरेर २० प्रतिशतसम्म गाडी थप गर्ने र समितिको बैठकमा सहमती भए तत्काल ४८ वटा गाडी खरिद गर्ने उनले बताए।

साझाले तोकेको मूल्यभन्दा २७ प्रतिशत सस्तोमा गाडी काठमाडौं ल्याइने भएसँगै साझाले थप गाडी थप गर्ने गरी निर्णय गर्न सक्ने भएको हो। चालक र ह्वीलचेयरसहित २६ सीट क्षमताको गाडीले ललितपुर र काठमाडौंमा सेवा विस्तार गर्ने छ । यो गाडी अपाङगमैत्री हुने साझाले जनाएको छ।

हाल सुन्दर यातायातले चीनमा निर्मित विएके कम्पनी छ वटा गाडीले काठमाडौं रिङरोडमा सेवा दिँदै आएको छ भने चीनमै निर्मित बीवाइडी लुम्बिनी १० वटा लुम्बिनी क्षेत्रमा सञ्चालनका लागि ल्याईएको भए पनि दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । साझा वसको सेयर नेपाल सरकारले खरिद गरेपछि बस खरिदको प्रकृया अघि बडेको थियो।

सरकारले साझामा तीन अर्बको सेयर लगानी गरेको छ।

विद्युतीय बस सञ्चालनमा आउने भएपछि यसका लागि अत्यवश्यक पर्ने पूर्वाधार चार्जिङ स्टेशन, ब्याट्रीको व्यवस्थापन लगायतका विषयमा सरकारसँग सहकार्य गरी साझाले पहल शुरु गरेको जनाएको छ ।

ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनमा सरकारका तर्फबाट सहयोग हुने बताउँदै आगामीमा दिनमा उपयुक्त तवरले संरचना खडा गरेर अगाडि बढ्न सबै निकायमा पहल गर्ने बताए । व्यापार घाटा कम गर्न मात्र नभएर वातावरणमैत्री सवारीसाधनको सञ्चालनमा मन्त्रालयले जोड दिएको उनले बताए।

खरिद गरिने एउटा बसको मूल्य करबाहेक एक करोड पाँच लाख पर्ने साझाले जनाएको छ, भने कर, चार्जिङ स्टेशन, पाँच वर्षको मर्मत खर्च, भ्याट र कर सहित प्रतिबस एक करोड ५२ लाख लाग्ने साझाले जनाएको छ । बस एकपटक ब्याट्री चार्ज गर्दा दुई सय किलोमिटर गुड्नेछ भने बसमा १६१ किलोवाट पर आवरको ब्याट्री जडान भएकाले चार्ज गर्न चार घण्टा लाग्नेछ ।

सार्वजनिक रुपमा सञ्चालन गर्ने विद्युतीय सवारीसाधन खरिद गर्दा सरकारले डिजल गाडी बरावर राजश्व लिने गरेको छ तर डिजल बसभन्दा विद्युतीय बस तीन गुणा महँगो पर्ने भएपछि कर  बढी तिर्नुपर्दा खरिदमा महँगो पर्ने तुलधारले बताए । गोरखापत्रअनलाइन

easy care

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार

ताजा समाचार

एनसीआईसीके भर्चुअल एक्स्पो, २०२४ सुरु

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार