सेटटप बक्सको पार्टस् आयातमा न्यून भन्सार महशुल लिईयो, बाँकी रकम असुल गर्नुपर्ने

Technology Khabar ७ भाद्र २०७८, सोमबार

सेटटप बक्सको पार्टस् आयातमा न्यून भन्सार महशुल लिईयो, बाँकी रकम असुल गर्नुपर्ने

काठमाडौं ।

नेपालभित्र प्रयोगमा आउने सेटटप बक्सको पार्टस आयातमा न्यून भन्सार महशुल लिएकोमा बाँकी शुल्क समेत उठाउन महालेखाले सरकारलाई निर्देश गरेकोछ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनकाअनुसार एक पैठारीकर्ताले मात्र आयात गरेको सेटटप बक्सको पार्टपुर्जामा छुट भएको महशुल ६१ लाख ४६ हजार रुपैयाँ असुल गर्न निर्देशन दिएको छ।

प्रतिवेदनकाअनुसार टेलिभिजन संग्रहण गर्ने टेलिभिजन रिसिभरको पार्टपुर्जाहरुलाई विशिष्टिकृत गर्न वर्गीकरणमा एकरुपता ल्याउन र तथ्यांकीय प्रयोजनका लागि हटेलिभिजिन सिरिभर कायम गरिएको र सो आयातकर्ताले पैठारी गरेको मेन बोर्डलाई सेटटप बक्सको पार्टपुर्जा मानिनुपर्ने महालेखापरीक्षकको ठहर छ।

त्यस्तो पार्टसमा १० प्रतिशत भन्सार महशुल र मूल्य अभिवृद्धि कर लगाउनुपर्नेमा सुख्खा बन्दरगाह भन्सार कार्यालयले भने ५ प्रतिशत भन्सार र मूल्य अभिवृद्धि कर मात्र असुल गरेको महालेखाले भेटेको छ।

जसअनुसार बाँकी छुट हुन गएको रकम ६१ लाख ४६ हजार रुपैयाँ असुल गर्न भनेको हो।

यसका साथै सेटटप बक्सको एसकेडी सामानलाई मेची भन्सार कार्यालयले पनि न्यून महशुल असुल गरेको भन्दा बाँकी रकम असुल गर्न भनेको छ । प्रतिवेदनकाअनुसार एउटै बीजकबाट आएको त्यस्तो सेटटप बक्स एसेम्बल गरी प्रयोग गर्न मिल्ने भएकोले त्यसमा १५ प्रतिशत भन्सार महशुल र मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेमा आंशिक महशुल मात्र असुल गरेको ठहर गरेको छ। बाँकी रकम १९ लाख ८७ हजार असुल गर्न भनेको छ ।

महालेखाले ती सबै सामाग्री एउटै कम्पनीले आयात गरेको ठहर गर्दै कुल ८१ लाख ३३ हजार राजस्व दाखिला हुनुपर्ने उल्लेख गरेको छ।

नेपालमा हाल सेटटप बक्स डिजिटल केबुल टिभी सेवा तथा इन्टरनेटमा आधारित टेलिभिजन सेवाको लागि प्रयोग हुने गर्दछ। त्यस्तो सेटटप बक्स विभिन्न कम्पनीहरुले आफ्नो आवश्यकताअनुसार आयात गर्ने गरेका छन भने डिशहोमको कम्पनीले सिमित मात्रामा नेपालमा नै एसेम्बल गर्ने गर्दछ।

डिस मिडिया नेटवर्क लिमिटेड अन्तर्गतको डिजिटल होम इन्टरनेशनलले नेपालमै पहिलोपटक सेट–टप बक्स उत्पादन गरिरहेको छ।

कम्पनीले सेटटप बक्समा राखिने सफ्टवेयरका लागि जर्मनीको आईडीएस तथा हार्डवेयरका लागि चीनको एसएमटी इलेक्ट्रोनिक टेक्नोलोजीसँग सहकार्य गरेको छ। त्यसका लागि आवश्यक पर्ने पार्टसहरु भने विदेशबाट पैठारी गर्दै आएको छ।

easy care

प्रकाशित: ७ भाद्र २०७८, सोमबार