नकिन्नुस् ओपोका फोनहरु जसले नेपाल टेलिकमको फोरजी नेटवर्क सपोर्ट गर्दैनन्

Technology Khabar २ जेष्ठ २०७८, आईतवार

नकिन्नुस् ओपोका फोनहरु जसले नेपाल टेलिकमको फोरजी नेटवर्क सपोर्ट गर्दैनन्
ओपोले नेपालमा गत सेप्टेम्बरमा एफ १७ प्रो सार्वजनिक गर्दै । फाइल फोटो

काठमाडौं ।

नेपाल टेलिकमको फोरजी नेटवर्कमा ओपोका मोबाइल फोनहरु सपोर्ट नगर्ने देखिएको छ । चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोका फोनहरु नेपालमा उपलब्ध भएपनि नेपाल टेलिकमको सबै फ्रिक्वेन्सी ब्याण्डमा ती फोनहरु सपोर्ट नगर्ने भएको देखिएको हो ।

टेलिकमले पछिल्लो दिनमा आफ्नो ब्याण्ड २० अर्थात ८०० मेगाहर्ज ब्याण्डलाई तिब्ररुपमा व्यवसायीक गर्ने योजना गरिरहेको बेलामा सबै मोबाइल ब्राण्डहरुको परीक्षण गरिरहेको छ ।

जसमध्ये नेपालमा आयात गरिएका ओपोका कुनैपनि फोनहरु सो ब्याण्डमा नचल्ने देखिएको हो ।

नेपाल टेलिकमले ८०० मेगाहर्ज फ्रिक्वेन्सी १८००, २१००, २३०० लगायतका  फ्रिक्वेन्सी ब्याण्डमा ४जी सेवा प्रदान गरिरहेको छ ।

८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डलाई विशेषगरि दुर्गम क्षेत्रमा भौगोलिक कठिनाई भएको स्थानहरुमा प्रयोग गरिन्छ । जसले ती स्थानहरुमा उच्च गुणस्तरको ४जी नेटवर्क र सेवा दिन सक्दछ ।

तर नेपालमा सो ब्याण्डमा मोबाइल फोनहरु कम रहेको भन्दै टेलिकमले विभिन्न मोबाइल ब्राण्डका कम्पनीहरुसँग छलफल गरिरहेको छ ।

सो बारेमा जानकार टेलिकमका एक अधिकारीले सबै मोबाइल कम्पनीहरुका प्रतिनिधिसँग छलफल गरिरहेको बताएका छन् ।

अन्य ब्राण्डको फोनहरुमा समस्या समाधान गर्ने काम भएपनि ओपोले कुनै चासो नलिएको र सो ब्याण्ड २० खोल्नेतर्फ कम्पनी इच्छुक नभएको देखिएको हो ।

‘ओपोका कुनैपनि फोनहरुमा ब्याण्ड २० चल्दैनन र हामीले त्यो ब्याण्ड खुलाउन अनुरोध गरेका थियौं तर उहाँहरुले रुची राख्नुभएन् ,’ उनले नाम उल्लेख नगर्ने शर्तमा भने ।

कम्पनीका सेटहरुमा ब्याण्ड २० भएपनि ओपोले सो ब्याण्ड नखोलिदिँदा ओपो फोन किनेका ग्राहकहरुले गुणस्तीय फोरजी सेवा नपाएको र आगामी दिनमा थप फिचर तथा सेवा समेत पाउन कठिन हुने देखिएको बताईएको छ ।

‘मोबाइल कम्पनीकै व्यवसाय बिस्तार हुने भएपनि उनीहरु त्यसप्रति सचेत र ग्राहक प्रति जिम्मेबार देखिएनन्,’ उनले स्पष्ट पारे ।

यसका साथै टेलिकमले शाओमी, सामसङ्ग, भिभो, एप्पल लगायतका कम्पनीहरुसँग पनि सो ब्याण्ड २० खुला गर्नका लागि छलफल गरिरहेको छ । र अन्य सबै मोबाइल ब्राण्डहरु भने सकारात्मक रहेको बताईएको छ ।

यसैबिच सबै कम्पनीहरुलाई टेलिकमले पत्र नै पठाएर नेपालमा पठाईने सबै फोनहरुमा ब्याण्ड २० खोलिदिन अनुरोध गरेको जानकारी दिएको छ। टेलिकमले सबै मोबाइल ब्राण्डहरुले त्यसमा सहयोग गर्ने अपेक्षा राखेको जनाएको छ ।

easy care

प्रकाशित: २ जेष्ठ २०७८, आईतवार