भन्सार विभागद्धारा ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली शुरु’, सम्पूर्ण सेवा अनलाइनबाटै

Technology Khabar १४ माघ २०७७, बुधबार

भन्सार विभागद्धारा ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली शुरु’, सम्पूर्ण सेवा अनलाइनबाटै

काठमाडौं ।

भन्सार विभागले तयार गरेको नेपाल राष्ट्रिय एकद्वार प्रणाली शुरु भएको छ । भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गर्ने गरी सञ्चालनमा ल्याइएको यो प्रणालीमा मङ्गलबार तीनवटा निकाय आबद्ध भएका छन् ।

चालू आर्थिक वर्षको अन्त्यसम्म सबै ४० वटा निकायलाई आबद्ध गर्ने विभागको योजना छ ।

मङ्गलबार ६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री बिष्णु पौडेलले विभागले तयार गरेको नेपाल राष्ट्रिय एकद्वार प्रणाली उद्घाटन गरे।

उनले भन्सार पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए । भन्सार प्रशासन सुधारको लक्ष्यसहित पूर्वाधार विकासको क्रमलाई जारी राखिएको उनले जानकारी दिए।

अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानाले सूचना प्रविधिमा आधारित भन्सार प्रणाली विकासमा सरकार लागिपरेको जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले भन्सारलाई व्यापार सहजीकरणको निकायको रूपमा हेर्नुपर्ने बताए ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले कोरोना सङ्क्रमणकै अवस्थामा पनि विभागले भन्सार सहजीकरण र डिजिटल प्रविधिको उपयोगमा विशेष काम गरेको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले एकद्वार प्रणालीको सफल कार्यान्वयनमा जोड दिए । पछिल्लो समय भन्सार प्रशासनमा व्यापक सुधार आएको उनको भनाइ थियो ।

easy care

प्रकाशित: १४ माघ २०७७, बुधबार