आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले पुस ११ गते आयोजना हुँदै

Technology Khabar ३० मंसिर २०७७, मंगलवार

आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले पुस ११ गते आयोजना हुँदै

काठमाडौं ।

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड २०२०’ को ग्राण्ड फिनाले कार्यक्रम आउँदो पुस ११ गते आयोजना हुने भएको छ ।

सोल्टी क्राउन प्लाजामा आयोजना हुने फिनालेमा सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर अवार्डका प्रतिस्पर्धी र सीमित अतिथिको बीचमा कार्यक्रम सम्पन्न हुने आयोजकले बताएको छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण भने विभिन्न टेलिभिजन, अनलाइन र सोसियल प्लेटफर्ममार्फत हुनेछ ।

ह्वावेले मुख्य प्रायोजन गरेको कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा अधिकांश संस्था तथा कर्पोरेट संस्थाहरूको सहकार्य रहेको छ । नेपाल टेलिकम र जेनस सोलुसन इन एशोसिएशन रहेको कार्यक्रममा फोन पे पावर्ड वाई र नेपाल दूरसञ्चार प्राधिकरण विशेष सहयोगी संस्थाको रूपमा रहेका छन् ।

अवार्डको फाइनल कार्यक्रममा विभिन्न ११ विधामा सर्वोत्कृष्ट घोषणा गर्दै अवार्डसँगै पुरस्कारहरू प्रदान गरिनेछ । यस वर्षको आइसिटी अवार्ड २०२० मा स्वदेश तथा विदेशबाट ३५० भन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजक लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले जानकारी दिए । कोरोनाको विषम परिस्थितिमा पनि यो वर्ष अहिलेसम्मकै उत्साहजनक सहभागिता रहेको उनले बताए ।

ह्वावे आइसिटी अवार्ड २०२० मा १४ जना जुरी सदस्य रहेका छन् भने १४ जनाको विशिष्ट सल्लाहकार समिति रहेको छ । गत भदौ महिनादेखि शुरु भएको अवार्डको छनौट प्रक्रिया यस वर्ष भर्चुअल रूपमा सञ्चालन गरिएको छ । २५ भन्दा बढी भर्चुअल मिटिङ आयोजना भएको र छनौट प्रक्रियाको लागि उच्चतम रूपमा प्रविधिको प्रयोग गरिएको जुरी संयोजक सुशील पोखरेलले बताए ।

ह्वावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ५ को घोषणा भएको छ ।

डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० को विजेता फाइनल कार्यक्रममै घोषणा हुने आयोजकले बताएको छ ।

easy care

प्रकाशित: ३० मंसिर २०७७, मंगलवार