प्रदेश २ मा छोरीको घरमा निःशूल्क इन्टरनेट जडानको तयारी

Technology Khabar २७ आश्विन २०७७, मंगलवार

प्रदेश २ मा छोरीको घरमा निःशूल्क इन्टरनेट जडानको तयारी

काठमाडौं ।

प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ ।

छोरी शिक्षा बीमा गराएका २६ हजार ९ सय ५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत २ माघ २०७६ यता बीमा गराएका छोरीहरूको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले जानकारी दिइन् ।

गत २ माघदेखि प्रदेश २ का १ सय ३६ वटै पालिकामा छोरी शिक्षा बीमाको शिविर सञ्चालन गरिएको थियो । संयोजक यादवले अहिले छोरी बीमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर सङ्कलन गर्ने काम भइरहेको बताइन् ।

उनले महोत्तरीको लोहारपट्टि नगरपालिकाको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले यस नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भएको बताइन् ।

प्रदेशका सबै १ सय ३६ पालिकाले छोरी बीमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने कार्यालयले जनाएको छ ।

सुबिसु इन्टरनेट कम्पनीले बीमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

महिला हिंसा न्यूनीकरण तथा छोरीको राम्रो शिक्षादीक्षाका लागि सञ्चालन गरिएको प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम सञ्चालनमा छ ।

जसमा छोरी जन्मिनेबित्तिकै प्रदेश सरकारले ३७ हजार तिरेर तीन लाखको बीमा गरिदिने व्यवस्था गरिएको छ । उक्त बीमाको रकम छोरीले २० वर्षपछि पाउनेछन् ।

सुरुमा २०७५ मा योजना एक जना छोरीलाई १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर एक लाखको बीमा प्रदेश सरकारले गर्ने गरेको थियो ।

मुख्यमन्त्री कार्यालयसँग माघयता २६ हजार ९ सय ५६ छोरीको बीमा गरिएको तथ्याङ्क छ भने प्रभु बैंकसँग २८ हजार ४ सय ५७ छोरीको बीमाको तथ्याङ्क रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले छोरी शिक्षा बीमा गर्न दुई वर्ष अर्थात् असार २०७६ सम्मका लागि प्रभु बैंकसँग सम्झौता गरेको थियो । जसमा २ माघ २०७६ देखि छोरीको बीमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने पनि सम्झौता गरिएको थियो ।

प्रभु बैंकसँगको सम्झौताका मिति सकिएकाले पुनः अर्को सम्झौताका लागि टेन्डर आह्वान गर्न २१ असोजमा बेटी पढाऊ, बेटी बचाऊ निर्देशक समितिको बैठक बसेको थियो ।

मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा रहेको १३ सदस्य समितिको बैठकले पुनः छोरी शिक्षा बीमा सुरु गर्ने, प्रभावकारी ढङ्गले अगाडि बढाउने, इन्टरनेट जडान गर्नेलगायतका विषयमा छलफल तथा निर्णय भएको अभियानकी संयोजक यादवले जानकारी दिए ।

easy care

प्रकाशित: २७ आश्विन २०७७, मंगलवार