नेशनल आईसीटी स्कलरसीप २०७७ को लागि आवेदन खुल्यो, ४९ जना विद्यार्थीहरुले छात्रवृत्ति पाउने

Technology Khabar २९ भाद्र २०७७, सोमबार

नेशनल आईसीटी स्कलरसीप २०७७ को लागि आवेदन खुल्यो, ४९ जना विद्यार्थीहरुले छात्रवृत्ति पाउने

काठमाडौं ।

कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) ले ‘नेशनल आईसीटी स्कलरसीप २०७७’ को लागि आवेदन खुल्ला गरेको छ । क्यान महासंघले प्राविधिक शिक्षातर्फ विगत दुईवर्ष देखि स्कलरसीप प्रदान गर्दै आईरहेको छ ।

यो छात्रवृत्ति कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेसनसँगको सहकार्यमा सुरु भएको हो ।

यो छात्रवृत्ति मार्फत ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ती प्रदान गरिने जनाइएको छ । विगत दुईवर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तरगत हालसम्म २८ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यो वर्षपनि फिमेल मेरिट आईसीटी स्कलरसीपमा प्रत्येक प्रदेशबाट चार जनाको दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिने छ । भने आईसीटी मेरिट स्कलरसीप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिने बताईएको छ ।

क्यान महासंघ र कलेज बीच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले १ करोड ९६ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउने छन् ।

नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टू वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तिमा ५० प्रतिशत अंक ल्याई सिटीइभिटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने छन् । साथै छात्रवृत्तिका लागि हाल कक्षा १२ को परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति प्राप्त विद्यार्थीले मलेसियाको एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इन्नोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउन्डेसनमा स्नातक तह अन्तरगत विएससी आईटीको अध्ययन गर्न पाउनेछन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्ड बुद्ध एजुकेशनको वेबसाइट www.lbef.org मार्फत असोज ९ गतेसम्म आवेदन दिई सक्नुपर्नेछ।

आवेदन दिँदा कक्षा १२ उतिर्ण गरिसकेकाहरुले कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपी तथा कक्षा १२ को परीक्षा नभइसकेकाहरुले कक्षा १२ अध्ययनरत रहेको प्रमाणका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेश गर्नुपर्नेछ ।

यस छात्रवृत्ति मार्फत कोभिड महामारीको बाबजुत पनि विपन्न वर्गका विद्यार्थीहरुलाई आफ्नो करिअर बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए ।

क्यान महासंघसँगको सहकार्यले डिजिटल डिभाइड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा सार्वजनिक निजि साझेदारीको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष इन्जिनियर पंकज जालानले बताए ।

easy care

प्रकाशित: २९ भाद्र २०७७, सोमबार