कोभिड-१९ महामारीमा सहयोग गर्ने बेलामा कहाँ लुकेका छन् मोबाइल ब्राण्डहरु, छैनन् कुनै योजना

Technology Khabar १७ बैशाख २०७७, बुधबार

कोभिड-१९ महामारीमा सहयोग गर्ने बेलामा कहाँ लुकेका छन् मोबाइल ब्राण्डहरु, छैनन् कुनै योजना
फाइलः मोबाइल फोन किन्दै ग्राहकहरु

काठमाडौं ।

अनुज राज

कोरोनाभाइरसको महामारीले विश्वभर सबैलाई समस्यामा पारेको छ । नेपालमा पनि कोरोनाभाइरस फैलनबाट रोक्नका लागि सरकारले एक महिनाभन्दा बढि समयदेखि लकडाउन गरिरहेको छ ।

मानिसहरु घरमा बसिरहेको बेलामा विभिन्न कम्पनीहरुले भने आफूले सकेको सहयोग आवश्यकताअनुसार गरिरहेका छन् । यसै आधारमा विश्वका विभिन्न मोबाइल ब्राण्डहरुले पनि आफ्नो होम कन्ट्रीसहित आफ्नो बजार भएका देशहरुमा विभिन्न किसिमका सहयोगहरु गरिरहेका छन् ।

मोबाइल कम्पनीहरुले आफ्नो बजार बन्द र बिक्री ठप्प भएपनि उनीहरुले आफ्नो सामाजिक उत्तरदायित्वअन्तरगत सामाजिक कार्यका साथै आर्थिक र भौतिक सहयोग गरिरहेको समाचारहरु आईरहेका छन् ।

प्रमुख ब्राण्डहरु एप्पल, सामसङ, ह्वावले आफ्नो देशमा मात्र नभई कोरोनाभाइरसले असर परेका विभिन्न देशहरुमा सहयोग गरिरहेका छन् ।

छिमेकी मुलुक चीन र भारतमा नै हेर्ने हो भनेपनि मोबाइल कम्पनीहरुले करोडौं रुपैयाँ आर्थिक सहयोगका साथै मास्क, सेनिटाइजर, पन्जालगायतका सामाग्रीहरु सरकारलाई र समुदायलाई उपलब्ध गराएका छन् । ती देशहरुमा चिनियाँ मोबाइल फोन ब्राण्डहरुले पनि आफूले सक्दो सहयोग गरिरहेको समाचारहरु आई नै रहेका छन् ।

दुबै छिमेकी मुलुकहरुमा आर्थिक, प्राविधिक र भौतिक सामाग्रीहरु उपलब्ध गराईरहँदा सहयोगतर्फ नेपालमा भने ती कम्पनीहरुको नामोनिसान देखिएको छैन् ।

नेपाली बजारमा दजनौं मोबाइल कम्पनीहरुले आफ्नो उत्पादनहरु बिक्री बितरण गर्दै आएका छन् । नेपाली बजारमा अर्बौंको मोबाइल फोनहरु ती ब्राण्डलले बिक्री गरेर नाफा लगिरहेका छन् ।

नेपाली मोबाइल बजारमा पनि विश्वका सबैजसो ब्राण्डका उत्पादनहरु उपलब्ध छन्, त्यसमा एप्पल, सामसङ, नोकियासहित दर्जनौं चिनियाँ ब्राण्डहरु छन् ।

तर ती सबै कम्पनी र ब्राण्डहरु अहिले भने कुना पसेर गुमनाम भएका छन् ।
लकडाउन अगाडिको तथ्यांक हेर्दा नेपाली बजारमा दक्षिण कोरियाली ब्राण्ड सामसङको प्रमुख बजार हिस्सा रहेको छ त्यसपछि चिनियाँ ब्राण्डहरु शाओमी, ओपो, भीभो, ह्वावे, रियलमी, लाभा, वनप्लस लगायतको बजार हिस्सा रहेको छ । त्यसैगरि अमेरिकी ब्राण्ड एप्पलले पनि नेपालमा उल्लेख मात्रामा आईफोनसहित अन्य उत्पादनहरु बिक्री गर्ने गरेको छ ।

हामी पनि चिनियाँ ब्राण्ड भएको हुँदा गर्न डराएका हौं, चिनियाँ भाइरस र चिनियाँ ब्राण्ड भनेर भन्लान भन्ने डर छ

बजारमा बिक्री गर्न र नाफा लैजान तछाडमछाड गर्ने मोबाइल कम्पनीहरु भने अहिले नेपालीहरुलाई सहयोग गर्ने बेलामा भने लुकेर बसेका छन् ।अरुबेला एउटा ईयरफोन बजारमा ल्याउँदा पनि तामझाम गरेर लन्च गर्ने कम्पनीहरु सहयोग गर्ने बेलामा भने बत्ति बालेर खोज्नुपर्ने भएको छ ।

एक प्रमुख मोबाइल ब्राण्ड मध्येको एक कम्पनीका अधिकारीले भने नाम उल्लेख नगर्ने सर्तमा हाल त्यस्तो कुनै योजना नभएको बताए ।

‘यस्तो अवस्थामा केहि सिएरआर गर्ने की भन्ने थियो तर नगर्ने भनेर रद्ध गरियो,’ ती अधिकारीले भने ।

मोबाइल कम्पनीहरुले आर्थिक र सामाजिक सहयोग नगरेको भएपनि यसअघि देखि नै खुद्रा बिक्रेताहरुले भने सानो/सानो मात्रामा जनचेतना जगाउने र राहत बाँड्ने काम लकडाउन भन्दा अगाडि देखि नै गरिरहेका थिए ।

खुद्रा बिक्रेताहरु र मोबाइल कम्पनी वा ब्राण्डसँग आबद्ध व्यक्तिहरुले व्यक्तिगतरुपमा राहत र सहयोग गरिरहेपनि मोबाइल ब्राण्डहरु भने सो बारेमा चुपचाप लागेर बसेका छन् ।

चिनियाँ ब्राण्डलाई डर

नेपालमा मोबाइल बिक्री गर्ने चिनियाँ ब्राण्डहरु भने डरले नै केहि नगर्ने भनेर बसेका छन् । उनीहरुले आफू र आफ्नो ब्राण्डलाई आक्षेप लाग्नसक्ने डरमा राहत नल्याएको दाबी गर्दछन् ।

‘हामीहरुले शुरुदेखि नै राहत र सहयोग गर्ने योजना बनाएका थियौं तर चीनबाट भाइरस आएको र हामी पनि चिनियाँ ब्राण्ड भएको हुँदा गर्न डराएका हौं, चिनियाँ भाइरस र चिनियाँ ब्राण्ड भनेर भन्लान भन्ने डर छ, चीनियाँ मोबाइल ब्राण्डका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

आफूलाई चाइनिज एप्पल भनिने कम्पनी शाओमीले पनि अहिलेसम्म कुनै देखिने र सुनिने किसिमको राहत र आर्थिक सहयोग गरेको देखिँदैन् ।

कम्पनीले केहि समयअघि निकै सानो मात्रामा खानेकुरा बाँडेको जानकारी दिएको थियो ।

त्यस्तै अर्कोतर्फ नेपालमा टेलिकम क्षेत्रमा पनि रहेको र विश्वको दोस्रो ठूलो स्मार्टफोन ब्राण्ड ह्वावे टेक्नोलोजीजले पनि अहिलेसम्म कतै राहत वा सहयोग गरेको छैन् । नेपालको टेलिकम र मोबाइल व्यवसायबाट संयुक्तरुपमा अर्बौंको व्यापार लाने टेलिकम कम्पनी ह्वावेले अहिलेसम्म सरकार वा स्थानिय कसैलाई सहयोग गरेको छैन् ।

कम्पनीहरु स्वार्थी भए

मोबाइल ब्राण्ड वा कम्पनीहरुले अहिलेसम्म कुनैपनि किसिमको सहयोग नगर्नुले उनीहरुको स्वार्थ देखिने बताउँछन् मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगद साउद ।

‘अहिलेसम्म कुनैपनि ब्राण्डले केहि राहत र सहयोग गरेको हामीलाई थाहा छैन्, उनीहरु केबल व्यापारबाट नाफा कमाउने र हामीमार्फत रकम लैजानेमा मात्र सिमित छन्,’ अध्यक्ष साउदले भने ।

मोबाइल कम्पनीहरु अब पनि केहि गर्ने खालका नदेखिएको उनले स्पष्ट पारे ।

छिमेकी मुलुकहरुमा करोडौं रुपैयाँ सहयोग दिने, मास्क स्यानिटाइजलगायतका सामाग्री उपलब्ध गराउने मोबाइल कम्पनीहरु नेपालमा भने लुकेर बसेका छन् ।

एकातर्फ विदेशी ब्राण्ड र मोबाइल कम्पनीहरुले सहयोग नगरेको अवस्थामा चित्त बुझाउन सकिने भएपनि नेपाली ब्राण्डको नाममा मोबाइल फोन व्यवसाय गर्नेहरु पनि कहाँ छन् थाहा छैन् ।

नेपाली ब्राण्डको रुपमा कलर्स र डाइमण्ड मोबाइल रहेका छन् । तर उनीहरुले पनि अहिलेसम्म कुनै राहत र सहयोग गरेको जानकारी छैन् ।

मोबाइल ब्राण्डहरुले राहत र सहयोगमा काम नगरेपनि ती ब्राण्डका फोन आधिकारीक आयातकर्ता कम्पनीहरुले भने संगठितरुपमा सहयोग गरिरहेका छन् । मोबाइल फोन इम्पोर्टस एसोसिएसन अफ नेपालको तर्फबाट अध्यक्ष दिपक मल्होत्राको नेतृत्वमा उनीहरुले विभिन्न निकायहरुलाई मास्क उपलब्ध गराईरहेका छन् ।

easy care

प्रकाशित: १७ बैशाख २०७७, बुधबार

ताजा समाचार