प्रदेश नं २ मा गर्ल्स इन टेक परियोजना शुरु, किशोरीहरुलाई सूचना प्रविधिको क्षेत्रमा सशक्त बनाउने

Technology Khabar १६ माघ २०७६, बिहीबार

प्रदेश नं २ मा गर्ल्स इन टेक परियोजना शुरु, किशोरीहरुलाई सूचना प्रविधिको क्षेत्रमा सशक्त बनाउने

काठमाडौं ।

काठमाडौं । प्रदेश नं २ मा किशोरीहरुलाई सूचना प्रविधिको क्षेत्रमा जागरुक बनाउने र सशक्तीकरण गराउने उद्धेश्यले प्रविधिमा किशोरी (गर्ल्स इन टेक) परियोजना शुरु भएको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत तथा श्रम रोजगार र सामाजिक मन्त्री रामेश्वरराय यादवले संयुक्तरूपमा  सो परियोजना आज शुभारम्भ गरे ।

युकेएडको रोजगारीका लागि सीप कार्यक्रमअन्तर्गत जिनसी सोलुसन्स नामक गैरसरकारी संस्थाको सहकार्यमा सो परियोजनाको थालनी गरिएको हो । लैङ्गिक असमानतालाई हटाउने सन्दर्भमा प्रविधिमा लगाव राख्ने किशोरीलाई शिक्षित एवं सशक्तीकरण गर्नु यस परियोजनाको उद्देश्य रहेको बताईएको छ ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रविधिक युगअनुरुप जनशक्ति उत्पादन गरी प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने सरकारको नीति भएको र यो परियोजनाले सो अभियानलाई सार्थक तुल्याउन सहयोगीसिद्ध हुने विचार व्यक्त गरे।

उनले छोरीप्रतिको विभेद हटाउन सरकारले बेटी पढाऊ, बेटी बचाऊ, साइकल वितरण र सरकारी जागिरमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको जानकारी दिए। समाजमा छोरीलाई मानसिक रूपले कमजोर बनाउने, अवसरबाट वञ्चित गराउनेलगायतका मानसिकता र गतिविधि विद्यमान रहेकाले यसको अन्त्य गर्न र परिवर्तनका लागि किशोरीलाई प्रविधिमूलक शिक्षा दिनु आवश्यक रहेको मुख्यमन्त्री राउतको भनाई थियो।

त्यसैगरी मन्त्री यादवले वर्तमान प्रविधिको युग भएकाले किशोरीलाई प्रविधितर्फ ध्यानाकर्षण गराई दीक्षित गर्नु आवश्यक भएको बताए। किशोरीलाई प्रविधिमा पहुँच गराई शारीरिक, मानसिक, सामाजिक रूपले आत्मबल अभिवृद्धि गराउनु अहिलेको आवश्यकता भएको धारणा उनले राखे ।

परियोजनाअन्तर्गत प्राविधिक पाठ्यक्रम तथा नेतृत्वसम्बन्धी तालीमदेखि ह्याकाथन तथा प्रतिस्पर्धामा आत्मविश्वाससँगै सहभागी हुने तरिका र सहयोग गरी प्रविधिको क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने पहुँचको समुदाय बनाउने लक्ष्य राखिएको छ ।

परियोजनाले स्नातक हुन लागेका विद्यार्थीलाई विश्वभर दिइने अनलाइन तालीम साधन तथा प्रमाणीकरण उपलब्ध गराउनुका साथै व्यक्तिगत रूपमा परामर्श र कम्पनीलाई चाहिएको सीपयुक्त श्रमशक्तिमा पहुँच हुने सुनिश्चित वातावरण निर्माणमा सघाउ पुर्याउने गर्दछ ।

परियोजनाले आर्थिक तथा सामाजिकरूपमा कमजोर पृष्ठभूमिका १०० विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्ने बताईएको छ

easy care

प्रकाशित: १६ माघ २०७६, बिहीबार