क्यान महासंघ अध्यक्षमा नवराज कुँवर बिजयी, कुल खसेको भोट मध्ये करिब ५६ प्रतिशत मत प्राप्त

Technology Khabar ७ मंसिर २०७६, शनिबार

क्यान महासंघ अध्यक्षमा नवराज कुँवर बिजयी, कुल खसेको भोट मध्ये करिब ५६ प्रतिशत मत प्राप्त

काठमाडौं ।

काठमाडौं । कम्प्यूटर एसोसिएसन अफ नेपाल महासंघ(क्यान महासंघ)को शनिवार नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा अध्यक्ष पदमा नवराज कुँवरले जित हासिल गरेका छन् । सो निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीद्धय सुनैना घिमिरे पाण्डे प्यानल र नवराज कुँवर प्यानलबिच प्रतिस्पर्धा भएको थियो ।

शनिवार राती अबेर सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्ष पदमा कुँवरले जित हात पारेका हुन् । उनले आफ्ना प्रतिस्पर्धी सुनैना घिमिरे पाण्डेको विरुद्धमा ६ प्रतिशतभन्दा बढि मत ल्याएर बिजयी भएका थिए । कुँवरले समग्रमा करिब ५६ प्रतिशत र पाण्डेले करिब ४४ प्रतिशत भोट पाएका थिए ।

कार्यसमितीमा कुँवर प्यानलबाट २१ र निर्वाचित भएका छन भने १८ जना पाण्डेसमूहबाट निर्वाचित भएका छन् ।

नव निर्वाचत अध्यक्षले आगामी २ वर्षको लागि क्यानको नयाँ नेतृत्व गर्नेछन् ।

अपडेटः यी हुन नयाँ कार्यसमिति सदस्यहरु-

निर्वाचनमा संस्थागत आजीवन समूह सदस्यमा डा. पवनकुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल विजयी भएका छन् ।

त्यस्तै संस्थागत समूहतर्फ अरुण वंशल, उमेश रघुवंशी, रञ्जित पोदार र बुद्धरत्न मानन्धर विजयी भए । संस्थागत महिलातर्फ यसअघि नै शर्मिला भुजेल, सरिता सिंह र रेभा राजभण्डारी निर्विरोध निर्वाचित भएका थिए ।

व्यक्तिगत आजीवन सदस्यतर्फ हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भए । व्यक्तिगत साधारण समूहमा खुशल रेग्मी, रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, श्रीधर मरासिनी विजयी भएका छन् । व्यक्तिगत महिलातर्फ सुस्मा शर्मा, गुणकेशरी प्रधान, रत्नतारा वैद्य यसअघि नै निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश सदस्यहरु तर्फ प्रदेश ४ बाट कास्कीका जगनबहादुर गुरुङ र बागलुङका कृष्ण पौडेल विजयी भए । प्रदेश ३ मा काभ्रेका शेखरनाथ दुलाल र चितवनका भानु शर्मा निर्वाचित भए । प्रदेशमा नै दिपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ प्रदेश २, रेशम गिरी र ध्रुवराज शर्मा प्रदेश ५, दलबहादुर खड्का र भीम मल्ल कर्णाली प्रदेश र हर्क सेट्टी र खेमराज ढुंगाना सुदुरपश्चिम प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन् ।

ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली प्रदेश नं। १ बाट निर्विरोध भईसकेका छन् ।

वस्तुगत सदस्य समूहबाट यसअघि नै नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा निर्विरोध निर्वाचित भइसकेका छन् ।

तिब्र प्रतिस्पर्धाका बिच भएको मतदानमा क्यानका विभिन्न विधाका सदस्यहरुले मतदान गरेका थिए । क्यानमा संस्थागत, व्यक्तिगत, संस्थागत आजिवन, व्यक्तिगत आजिवन र प्रदेश स्तरिय मतदाताहरुले आफ्नो आफ्नो विधाका उम्मेदवारहरुलाई मतदान गरे।

क्यानको कुल ४३ जनाको कार्यसमिति मध्ये अध्यक्ष र ३८ जना सदस्यहरुको प्रत्यक्ष निर्वाचन हुने गर्दछ । जसमध्ये १४ जना प्रदेशहरुबाट, व्यक्गित समूहको १० मध्ये व्यक्तिगत साधारणबाट ७, व्यक्तिगत आजिवन सदस्यहरुबाट ३ जना हुनेछ भने संस्थागत समूहतर्फ १० जनामध्ये संस्थागत साधारण सदस्यबाट ७ जना र संस्थागत आजिवन सदस्यबाट ३ जना आउने छन् । विषयगत समूहबाट ४ जना हुनेछ भने लेखासमिति सदस्यमा ३ जना निर्वाचित हुन्छन् ।

क्यानमा व्यक्तिगततर्फ ५३६ जना, व्यक्तिगत आजिवनतर्फ ६९, संस्थागत तर्फ १८५ जना, संस्थागत आजिवनतर्फ ३४ र क्षेत्रगत सदस्यहरु १० र जिल्ला तथा प्रदेशतर्फ ३४९ जना मतदाता रहेका थिए ।

निर्वाचन अघि नै कुँवर पक्षबाट १४ जना र पाण्डे पक्षबाट ४ जना निर्विरोध निर्वाचित भईसकेका छन् ।

easy care

प्रकाशित: ७ मंसिर २०७६, शनिबार