इन्टरनेट सेवामा नेपाल टेलिकम अगाडि, डाटाको गतिमा भने स्मार्ट अग्रस्थानमा

Technology Khabar २७ फाल्गुन २०७५, सोमबार

इन्टरनेट सेवामा नेपाल टेलिकम अगाडि, डाटाको गतिमा भने स्मार्ट अग्रस्थानमा

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

हालै प्राधिकरणले भक्तपुर, पोखरा, बागलुङ र पृथ्वी राजमार्गको क्षेत्रमा गुणस्तर परीक्षण गरेको छ । प्राधिकरणले गर्ने सो परिक्षणलाई ड्राइभ टेस्टमार्फत गरेको थियो जसको प्रतिवेदन हालै सार्वजनिक गरेको छ ।

सो प्रतिवेदनअनुसार माघ पहिलो र दोस्रो साता नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको ड्राइभ टेस्ट गरिएको हो । इन्टरनेट सेवातर्फ डाउनलोड र अपलोडको बहावको आधारमा हेर्दा नेपाल टेलिकमको सेवा उत्कृष्ट देखिएको छ । प्राधिकरणकाअनुसार इन्टरनेटमा वेबसाइट पिंग गर्न लाग्ने समय र सफलताको दरको आधारमा हेर्दा नेपाल टेलिकमको सेवा सबैभन्दा उत्कृष्ट रहेको छ ।

पृथ्वी राजमार्गमा गरीएको नेपाल टेलिकम र एनसेलको परीक्षणमा नेपाल टेलिकम मापदण्डअनुसार नै वेबसाइट पिंग गर्न लाग्ने समय र सफलताको दरमा उत्तीर्ण भएको छ भने एनसेल सो मापदण्डमा असफल भएको छ । नेपाल टेलिकमको पिंग गर्न लाग्ने समय मिलिसेकेण्ड २४८ छ भने एनसेलको ३१७ मिलिसेकेण्ड रहेको छ । प्राधिकरणले यसमा २५० मिलिसेकेण्डको मापदण्ड तोकेको छ । सो स्थानमै वेबपेज लोड हुन लाग्ने समय र सफलताको दरमा पनि नेपाल टेलिकम एनसेल भन्दा अगाडि रहेको छ । तर यसको मापदण्ड तोकिएको छैन् ।

बाग्लुङमा गरीएको परीक्षणअनुसार यहाँ पनि नेपाल टेलिकमको मोबाइल इन्टरनेट एनसेलको भन्दा राम्रो भेटिएको छ तर दुबै कम्पनीहरु प्राधिकरणको मापदण्डमा भने फेल भएका छन् । यहाँ टेलिकमको ३८६ मिलिसेकेण्ड छ भने एनसेलको पिंग गर्न लाग्ने समय ७६३ मिलिसेकेण्ड रहेको छ । वेबपेज लोड हुन लाग्ने समयमा पनि नेपाल टेलिकमको समय कम लाग्ने देखिएको छ भने एनसेलको धेरै लाग्ने देखिएको छ ।

प्राधिकरणले पोखरामा भने तीनवटै कम्पनीको मोबाइल इन्टरनेटको परीक्षण गरेको थियो जसमा तीनवटै कम्पनीहरुले मापदण्ड पास गरेका छन भने नेपाल टेलिकमले अन्य दुई कम्पनीलाई यहाँ पनि उछिनेको प्रतिवेदनमा उल्लेख छ । पोखरामा वेबपेज लोड हुन लाग्ने समयमा भने एनसेलबाट कम अवधि देखिएको छ । जहाँ टेलिकम भने अन्तिम स्थानमा रहेको छ । एनसेलबाट वेबपेज लोड हुन केबल १७.३९ सेकेण्ड लाग्दछ भने स्मार्ट टेलिकमबाट १७.५५ सेकेण्ड तथा नेपाल टेलिकमबाट १९.१५ सेकेण्ड देखिएको छ ।

भक्तपुरमा पनि मोबाइल इन्टरनेट सेवामा नेपाल टेलिकम नै अगाडि देखिएको छ । भक्तपुरमा पिंग गर्न लाग्ने समय टेलिकमको केबल १३३ मिलिसेकेण्ड छ भने एनसेलको १६७ मिलिसेकेण्ड रहेको छ तर यहाँ स्मार्ट भने मापदण्डमा नै असफल भएको छ, जसको ३०० मिलिसेकेण्ड रहेको छ ।

तर अर्कोतर्फ डाउनलोड र अपलोडको डाटाको बहाव हेर्ने हो भने स्मार्ट टेलिकमले अन्य दुबै कम्पनीहरुलाई प्रतिस्पर्धामा उछिनेको देखिन्छ ।

डाटा अपलोड र डाउनलोड पोखरा र भक्तपुरमा परीक्षण गरिएको रिपोर्टमा उल्लेख छ, जसमा स्मार्ट टेलिकम अगाडि छ भने त्यसपछि एनसेल र नेपाल टेलिकम छन् ।

डाउनलोडको आधारमा भक्तपुरमा हेर्दा स्मार्टको औसत ९.५७ एमबीपिएस छ भने अधिकतम ६५.८२ एमबीपिएस छ, त्यस्तै एनसेलको ११.८५ तथा टेलिकमको ६.२४ एमबीपिएस छ । अपलोड तर्फ भने स्मार्ट टेलिकमको १०.३७ एमबीपिएस छ भने एनसेलको ६.१३ तथा नेपाल टेलिकमको ३.२७ रहेको छ ।

पोखरामा पनि स्मार्टको डाउनलोडको गति २१.९३ एमबीपिएस औसत छ भने अधिकतम ६४.९९ एमबीपिएसको गति देखिएको छ । त्यसपछि ६.९२ एनसेलको तथा ६.२३ एमबीपिएस नेपाल टेलिकमको छ । अपलोड तर्फ पनि स्मार्टको औसत डाटाको वहाब ९.३७ एमबीपिएस छ भने एनसेलको ६.१७ तथा नेपाल टेलिकमको २.४२ एमबीपिएस रहेको प्रतिबेदनमा उल्लेख छ ।

easy care

प्रकाशित: २७ फाल्गुन २०७५, सोमबार