ट्राफिक प्रहरीको सूचना तथा जानकारी अब मोबाइलबाटै थाहा पाउन सकिने

Technology Khabar १९ बैशाख २०७३, आईतवार

ट्राफिक प्रहरीको सूचना तथा जानकारी अब मोबाइलबाटै थाहा पाउन सकिने

काठमाडौं ।

काठमाडौं, १९ वैशाख । बढ्दो यातायात व्यवस्थित गर्न र त्यसको सूचना दिन ट्राफिक प्रहरीले मोबाइल एप तयार पारेको छ । ट्राफिक प्रहरीको गतिबिधिलाई मोबाइलमार्फत जानकारी दिने उद्धेश्यका साथ मोबाइल एप तयार पारिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘ट्राफिक पुलिस, नेपाल’ (Traffic Police, Nepal) नाममा बनाईएको यो एपमा ट्राफिकसँग सम्बन्धित विभिन्न गतिबिधि र सूचनाहरु हेर्न सकिन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआईजीपी) प्रकाश अर्यालले जनताको हातमा ट्राफिक सूचना दिनको लागि यो एप बनाईएको बताए । “पिपुलको हातमा इन्फर्मेशन पावर दिने उद्धेश्य हो ।” उनले भने । महाशाखा प्रमुख अर्यालले यो एपको प्राविधिक विषय थाहा नभएको र थप कुरा उद्घाटनको बेला नै दिने भन्दै अन्य जानकारी दिन अस्विकार गरे ।

शुक्रबारसम्म गूगल प्लेमा राखिएको यो एप आज समाचार तयार पार्दासम्म भने हटाइएको पाईएको छ । यो एप किन हटाइयो यसबारे कुनै जानकारी छैन् । यसअघि गूगल प्ले स्टोरमा भेटिएको यो एपमा सबैभन्दा माथिल्लो भागमा ट्राफिक पुलिसको लोगो राखिएको छ भने त्यसको मुनीको भागमा ट्राफिकसँग सम्बन्धित समाचारहरु राखिएका छन् । यो खण्डमा साधारण, दुर्घटना, हराएका, भेटिएका समाचार र जानकारीहरु राखिएका छन् ।Traffic Police, Nepal - Android Apps on Google Play 2016-04-28 19-15-00

त्यसैगरी यो मोबाइल एपले हरेक चोकमा भएका ट्राफिक अवस्थाको बारेमा जानकारी पनि दिनेछ । यसको आधारमा प्रयोगकर्ताले आफूलाई सामान्य ट्राफिक भएको रुटबाट जाममा नपरि सहजरुपमा यात्रा गर्न सक्दछ । यो खण्डमा हेभी, मिडियम तथा नर्मल गरि तीन किसिमको ट्राफिकको अवस्थाको जानकारी दिन्छ ।

त्यसैगरी यसमा आकस्मिक सेवाहरुको लागि इर्मजेन्सी खण्ड राखिएको छ, जसमा विभिन्न प्रहरी यूनिट, अग्नि नियन्त्रण, अस्पताललगायतको जानकारी र सम्पर्क नम्बर दिईएको छ भने कुनै समस्या पर्दा ट्राफिकलाई सम्पर्क गर्नको लागि हटलाइन १०३ मा कल गर्न कन्ट्रोल रुमको सुविधा पनि एपमा राखिएको छ ।

ट्राफिक पुलिस नेपाल एपमा कुन कारबाहीमा कति जरिवाना तिर्नुपर्दछ भन्ने जानकारीको खण्ड रहेको छ । यो खण्डमा रु १,००० देखि रु ५० सम्म जरिवाना कतिखेर तिर्नुपर्छ भन्ने जानकारी पाउन सकिन्छ । त्यसैगरी फाइण्ड ब्यांक्स खण्डमा ग्लोबल आईएमई बैंकका शाखाहरुको जानकारी र नक्सा दिईएको छ भने ट्राफिक स्टेशन्स खण्डमा उपत्यकाभित्रका ट्राफिक कार्यालयहरुको जानकारी दिईएको छ ।

ट्राफिक प्रहरीले ल्याएको मोबाइल एपमा ट्राफिकको मेट्रो ट्राफिक एफ एम ९५.६ पनि सुन्न सकिने व्यवस्था छ भने यसमा भिडियोज भनेर ट्राफिक र दुर्घटनासँग सम्बन्धित भिडियोहरु राखिएका छन् ।

यो एपमा राखिएको पब्लिक आई भन्ने खण्डमा गएपछि प्रयोगकर्ताले एउटा फर्म भर्नुपर्ने हुन्छ । यो फर्म भर्ने कोशिस गर्दा भने नेटवर्क ईरर देखाईरहन्छ ।

ट्राफिकले तयार पारेको यो एपमा प्रयोगकर्ताले ट्याक्सी भाडादर, सवारी रुटको जानकारी,पार्किंग एरियालगायतका जानकारीहरु पनि इन्फो सेक्सनमा हेर्न सक्दछ भने यसमा ट्राफिकसम्बन्धि फोटोहरु पनि हेर्ने व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरीका लागि यो एप क्यापिटल आई प्रालिले निर्माण गरेको हो । यो एप यहि २० गते प्रहरी महानिरिक्षक उपेन्द्र कान्त अर्यालले औपचारिकरुपमा प्रयोग गरेर शुरु गर्नेछन् । यसको लागि ट्राफिकले निम्तो पत्र पनि पठाईसकेको छ ।

शुक्रबारसम्म १० जनाले इन्स्टल गरेको यो मोबाइल एप १३.९५ एमबीको छ भने १.१५ भर्सनमा रहेको छ । यो एप २८ अप्रिलमा नयाँ अपडेट गरिएको र नयाँ सर्भर राखिएको उल्लेख छ ।

(सम्पादित)

easy care

प्रकाशित: १९ बैशाख २०७३, आईतवार