संबिधानलाई पर्खेर विकास निर्माण रोक्न नहुनेः अर्थमन्त्री

Technology Khabar ५ मंसिर २०७१, शुक्रबार

संबिधानलाई पर्खेर विकास निर्माण रोक्न नहुनेः अर्थमन्त्री

काठमाडौं ।

काठमाडौं, ५ मंसिर । अर्थमन्त्री डा रामशरण महतले सरकार औद्योगिक लगानी बृद्धि, उर्जा निर्यात र बढी पर्यटक आकर्षित गरी बढ्दो व्यापारघाटा घटाउन क्रियाशील रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक तथा व्यापारिक प्रदर्शनीकोे उद्घाटनका क्रममा उक्त कुरा बताएका हुन् ।

उनको भनाई थियो, ‘आर्थिक बृद्धि गर्नुपर्ने चुनौती एकातिर छदैछ अर्कोतिर बढ्दो व्यापारघाटा घटाइहाल्नुपर्ने अर्को चुनौती पनि हाम्रा सामु रहेको छ । करिब ६ खर्बको व्यापारघाटा धान्नका लागि हामीले औद्योगिक लगानी बढाउनुपर्छ । प्रचूर संभावना भएको उर्जाको विकास गर्नैपर्छ । नेपालको भौगोलिक विविधता र प्राकृतिक पर्यावरणको संभावनाबाट लाभ लिनैपर्छ ।’

सो अवसरमा उनले नेपालले तीसौ लाख पर्यटक आकर्षित गर्न सक्ने संभावना बोकेको बताउँदै सरकार यी तीनै क्षेत्रको संभावना उजागर गर्न लागिपरेको दाबी गरे ।

परम्परागत पर्यटनका अतिरिक्त नेपालमा आधुनिक खेल प्रतियोगिताहरु, स्वास्थ्य सेवा, शिक्षाको विकाससँग गाँसिएको पर्यटकीय संभावनाको पनि उजागर गर्नुपर्नेमा उनले जोड दिए । स्वदेशमै आर्थिक गतिविधिहरु बिस्तार गरी रोजगारी सिर्जना, उच्च आर्थिक बृद्धि र जनताको उच्च आम्दानी बृद्धिका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले लगानी बृद्धिका लागि कानूनमा व्यापक सुधार गरिरहेको जानकारी  दिएका थिए ।

लगानीको लागि अनुकूल वातावरण तयार गर्न तीन दर्जन कानूनहरुमा सामयिक सुधार भैरहेको र औद्योगिक वातावरण निर्माणका लागि श्रमिकका लागि कल्याणकारी व्यवस्थाका साथै लगानीकर्ताहरुलाई सहज हुने श्रम कानून निर्माण भैरहेको पनि बताए ।

संबिधानलाई पर्खेर विकास निर्माण रोक्न नहुनेमा जोड दिदै उनले भने, ‘आर्थिक विकासका लागि एक मिनट पनि ढिलाई गरिनु हुँदैन ।’

यसै प्रसंगमा उनले अव सरकारले आर्थिक विकाससँग सम्वन्धित कुनैपनि व्यावधान नसहने बताए । लगानीकर्ताहरुलाई लगानीको लागि साहसिक  निर्णय लिन आग्रह गर्दै भने, ‘अव कुनै समस्या आउने छैन । आगामी दिनमा लगानीकर्ताहरुका लागि तनावरहित वातावरण तयार हुँदैछ । बन्द हडताल हुने छैनन् ।’

उनले कर प्रशासनलाई लगानीमैत्री बनाउने काम भैरहेको र बर्तमान संरचनामा सुधार गर्ने काम भैरहेको बताए ।

समृद्ध पोखराको संभावना नजिकिदै गरेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले भने, ‘पोखरीबासीको चाहना बमोजिम क्षेत्रीय विमानस्थल निर्माण हुँदैछ ।’ यो राष्ट्रिय प्राथमिकताप्राप्त काममा परेकोले छिटै अगाडि बढ्ने आश्वासन पनि दिए ।

कार्यक्रममा सभासद यज्ञबहादुर थापाले क्षेत्रीय विमानस्थल निर्माणसँगै पोखराको विकासको ढोका खुल्ने बताए । यसैगरी अर्का सभासद रवीन्द्र अधिकारीले औद्योगिक विकाससँग सम्वन्धित यस्ता प्रदर्शनीको आयोजनाले आर्थिक गतिबिधिहरुको बिस्तारमा सहयोग पुग्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले संबिधान निर्माणसँगै आर्थिक विकासलाई पनि तिब्रता दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले क्षेत्रीय विमानस्थल निर्माणपछि पोखरा आर्थिक विकासको आकर्षणको केन्द्र हुने बिचार व्यक्त गरेका थिए ।

easy care

प्रकाशित: ५ मंसिर २०७१, शुक्रबार

ताजा समाचार