एआईआईबी स्थापनाको लागि समझदारीपत्रमा हस्ताक्षर

Technology Khabar ९ कार्तिक २०७१, आईतवार

एआईआईबी स्थापनाको लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं ।

काठमाडौं, ९ कात्तिक । एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) स्थापना गरी आगामी २०१५ भित्रै सञ्चालनमा ल्याउनका लागि यस क्षेत्रका अर्थमन्त्रीहरुले शुक्रबार ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रममा समझदारीपत्रमा औपचारिक हस्ताक्षर गरेका छन । नेपालको तर्फबाट अर्थमन्त्री डा रामशरण महतले हस्ताक्षर गरेका थिए ।

सो बैंकको स्थापनाका लागि नेपाललगायत यस क्षेत्रका २१ मुलुकहरुले समझदारी पत्रमा औपचारिक हस्ताक्षर गरेका हुन । इण्डोनेसिया, दक्षिण कोरिया र अस्ट्रेलियनबाहेक अन्य देशका अर्थमन्त्रीहरु कार्यक्रममा उपस्थित थिए । चीनका राष्ट्रपति सी जिन पिङको उपस्थितिमा यस क्षेत्रका अर्थमन्त्रीहरुले उक्त बैंक स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।

अनुपस्थित मुलुकहरुले पनि मन्त्रिपरिषदबाट निर्णय गर्न बाँकी रहेकोले हस्ताक्षर समारोहमा उपस्थित हुन नसकेको बताइएको छ । हस्ताक्षर गर्ने मुलुकहरुमा नेपाल, भारत, चीन, बंगलादेश, श्रीलंका, पाकिस्तान, काजकस्तान, कुवेत, सिंगापुर, मलेसिया, भियतनाम, उज्वेकिस्तान, भूटान, मंगोलिया, म्यानमार, ओमन, कतार, फिलिपिन्स, लाओपीडीआर रहेका छन ।

विभिन्न मुलुकका प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै चीनका राष्ट्रपति पिङले एआईआईबीले यस क्षेत्रको पूर्वाधार निर्माणमा आवश्यक पर्ने स्रोतको आपूर्ति गर्ने र त्यसलाई सरल  र सहज ढंगले उपलब्ध गराउने बताए । उनले विश्व बैंक र एसियाली विकास बैंकमा भएका असल अभ्यासहरुलाई नयाँ स्थापित यस बैंकले पनि प्रयोगमा ल्याउने पनि बताए ।

चीनका राष्ट्रपति सी जिन पिङले प्रतिनिधिमण्डका सदस्यहरुलाई बेग्लै भेटेर पनि बैंकलाई यस क्षेत्रको पूर्वाधार निर्माणमा अपुग स्रोत परिचालनमा सशक्त भूमिका निर्बाह गर्ने आश्वासन दिएका थिए ।

समझदारीपत्रमा उल्लेख गरिए अनुसार एआईआईबीले विश्व बैंक तथा एसियाली विकास बैंकसँग प्रतिस्पर्धा गर्ने नभै यस क्षेत्रका पूर्वाधार तथा अन्य विकासका चुनौतीहरुलाई सामना गर्न परिपूरक संस्थाको रुपमा काम गर्नेछ ।

यस बैंकमा चीनले ५० अर्ब डलर सेयर हिस्सा राख्ने भएको छ । कुल पुँजी करिब १०० अर्ब डलर बनाउने तयारी भैरहेको छ । प्रधान कार्यालय बेइजिङमा राख्ने सहमति पनि भैसकेको छ ।

easy care

प्रकाशित: ९ कार्तिक २०७१, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार