अधिकांश इलेक्ट्रोनिक डिभाइसमा यूएसबी-सी चार्जर राख्न ईयू सहमत

Technology Khabar २५ जेष्ठ २०७९, बुधबार

अधिकांश इलेक्ट्रोनिक डिभाइसमा यूएसबी-सी चार्जर राख्न ईयू सहमत

काठमाडौं ।

यूरोपियन यूनियन सबै स्मार्टफोन तथा इलेक्ट्रोनिक डिभाइसमा यूएसबी-सी चार्जर उपलब्ध गराउन सहमत भएको छ।

यसको मुख्य उद्देश्य इलेक्ट्रोनिक फोहर घटाउनु तथा नमिल्ने चार्जरहरुको असहजतालाई पार लगाउनु रहेको इन्ग्याजेटले उल्लेख गरेको छ।

‘नयाँ नियमअनुसार उपभोक्ताले अब कुनै नयाँ डिभाइस किन्दा फरक फरक चार्जिङ डिभाइस र केबल किनिरहनु नपर्ने भएको छ। उनीहरुले सबै साना तथा मझौला इलेक्ट्रोनिक डिभाइस एउटै चार्जरले चार्ज गर्न सक्नेछन्’, यूरोपेली संसदले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

यसका साथै ग्राहकले चार्जररहित वा चार्जरसहितको नयाँ डिभाइस किन्न पनि सक्नेछन्। यो नियमले पुरानै चार्जरलाई उपयोग गर्ने र त्यसबाट प्रत्येक वर्ष अनावश्यक चार्जरमा खर्च हुने २५ करोड यूरो जोगिने ईयूको अपेक्षा रहेको छ।

यो नियम पूर्ण रुपमा लागू गर्न निर्माताहरुलाई २०२४ को शरद ऋतुसम्म समय दिइएको छ।

यसको अर्थ अब एप्पल र अन्य इलेक्ट्रोनिक्स निर्माताहरूसहित स्मार्टफोन निर्माताहरूलाई तिनीहरूको डिभाइसहरूमा स्ट्याण्डर्ड यूएसबी टाइप सी चार्जिङ पोर्टसहित आउन बाध्य पार्न गइरहेको छ।

यसले विशेषगरी एप्पलमा ठूलो प्रभाव पार्न सक्छ, किनकि कम्पनीले अझै पनि आईफोनहरू चार्ज गर्न आफ्नै लाइटनिङ्ग कनेक्टर प्रयोग गर्दछ। कम्पनीले भर्खरै मात्र आईप्याड र म्याकबुकमा यूएसबी टाइप सी पोर्टहरू उपलब्ध गराएको छ।

आयोगको २०१९को अध्ययन अनुसार सन् २०१८ मा मोबाइल फोनमा बेचेका मध्ये आधा चार्जरहरूमा यूएसबी माइक्रो-बी कनेक्टर थियो, जबकि २९ प्रतिशतमा यूएसबी टाइप सी कनेक्टर र २१ प्रतिशतमा लाइटनिङ कनेक्टर थियो।

easy care

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

ताजा समाचार