सोलार रुफटप नेटमिटिरिंग प्रवद्र्धनको आवश्यकताबारे विज्ञहरुको छलफल

Technology Khabar ५ जेष्ठ २०७९, बिहीबार

सोलार रुफटप नेटमिटिरिंग प्रवद्र्धनको आवश्यकताबारे विज्ञहरुको छलफल

काठमाडौं ।

मुलुकलाई आवश्यक विद्युत ऊर्जाको श्रोतको रुपमा जलविद्युतको उपयोग हुँदै आएको छ। हालको अवस्थामानिर्माण सम्पन्न भएका विभिन्न जलविद्युत आयोजनाहरुको उत्पादन क्षमता २ हजार १६० मेगावाट रहेको छ।

जडित क्षमताअनुसार २ हजार १६० मेगावाट विद्युत उत्पादन हुने भए पनि सुख्खा मौसममा नदीमा पानी कम हुने भएकोले करिब ३० प्रतिशत मात्र विद्युत उत्पादन हुन्छ। त्यसकारण अन्य श्रोतको पनि व्यवस्था गर्न सोलार वा अन्य प्रविधिलाई पनि राष्ट्रिय प्रसारणमा जोडन सकिने गरी प्रवद्र्धन गरिने नीति अवलम्बन गरिएको छ।

हरेक घरः ऊर्जा घर भन्ने नेपालको राष्ट्रिय नारा हो। यसलाई ऊर्जा सम्वन्धि राष्ट्रिय नीतिहरुमा समेत प्राथमिकताका साथ उल्लेख गरिएको छ । यस अन्तर्गत प्रत्येक घरको छानामा सोलार प्यानल जडान गरी घरमा प्रयोग गरेर बढी भएको भएको विद्युत नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमार्फत विक्री गर्न सकिने भनी केही वर्ष अघि गरेको निर्णयलाई सार्थक तुल्याउन पहल गर्नुपर्ने आवश्यकताबारे बुधबार साँझ प्राज्ञिक र विज्ञहरुको एक छलफल आयोजना गरियो।

सोलार रुफटप नेटमिटरिङ भनिने यस विधिलाई व्यावहारिक रुपमा सफल र सुलभ तुल्याउन यस अघि ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्र समेतको संलग्नतामा प्राविधिक मार्गदर्शन र कार्यविधिहरु पनि तयार भइसकेको भए पनि केही नीतिगत पक्ष र केही व्यावहारिक पक्ष सुधार गरेर आफ्नो घरको छानामा सोलार प्यानल र आवश्यक अन्य उपकरण जडान गरी विद्युत उत्पादन गरेर नेपाल विद्युत प्राधिरणलाई विक्री गर्न उपभोक्ताहरुलाई प्रोत्साहित गर्न नेपाल सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्नु पर्ने बारे विज्ञहरुले राय प्रकट गरेका थिए।

सोसाइटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपालका अध्यक्ष डिल्ली रत्नशाक्यको अध्यक्षतामा सञ्चालिल उक्त छलफल कार्यक्रममा प्रो. डा. जगन्नाथ श्रेष्ठले सोलार विद्युतको प्राविधिक पक्ष, नेपालमा सोलार विद्युतको विकास र विद्यमान अवस्थामा र भविष्यमा त्यस प्रविधिको उपयोगबाट नेपालले फाईदा लिन सकिने बारे प्रकाश पारेका थिए। उक्त अवसरमा पूर्व सचिव अनुपकुमार उपाध्याय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक डा. नारायण अधिकारी, नेपाल सौर्य विद्युत उत्पादक संघ (सिमेन) का अध्यक्ष प्रकाशविक्रम बस्नेत लगायतका विज्ञहरुले आ–आफ्नो राय सुझाव प्रस्तुत गरेका थिए।

सोलार रुफटप कार्यक्रम अघि बढाउन सरकारको कार्यक्रमहरुमा प्राथमिकताका साथ समावेश गराउन पहल गर्ने, समस्या पहिचान गरी समाधानका उपायहरु सिफारिस गर्र्ने, सरोकारवालाहरुका साथ छलफल, र गोष्ठी आयोजना गर्ने निर्णय उक्त छलफल कार्यक्रमबाट गरिएको छ ।

यसैगरी सोसाइटी अफ ईलेक्ट्रिकल ईञ्जीनियर्स नेपाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल सौर्य विद्युतउत्पादक संघ (सिमेन) र अन्य संस्थाहरुका साथ सहकार्य गरेर सोलार रुफटप नेटमिटरिङ प्रवद्र्धनका लागि पाइलट प्रोग्राम सञ्चालन गर्न पहल निर्णय गरिएको छ।

एक सय मेगावाटको १ आयोजनावा १० मेगावाटका १० आयोजना वा त्यस्तै कुनै समीकरणबाट १०० मेगावाट विद्युत उत्पादन गर्नु र एक लाख घरका छानामा एक किलोवाटका सोलार प्यानल राखेर विद्युत उत्पादन गर्नु प्राविधिक रुपमा एकै हो। काठमाडौं उपत्यकाका ६ लाख घरमध्ये एक लाख घरका छानाबाट कम्तिमा १०० मेगावाट विद्युत उत्पादन गर्न सकिने र सोको लागि तयार गरिएका प्रावधानहरु परिमार्जित गरी सहज तुल्याउन रकम ब्याज दरमा ऋणसमेत उपलव्ध गराउन सकेमा सोलार रुफटप नेटमिटरिंग विधिबाट ऊर्जा क्षेत्रले प्रसस्त लाभ लिन सकिन्छ।

अधिकतम लाभ लिनका लागि चार पाँच लाख घरका छानाहरु उपयोगमा ल्याउन पनि सकिन्छ। अन्तर्राष्ट्रिय बजारमा प्रविधिको गुणस्तर राम्रो हुँदै आएको र लागत कम हुँदै आएको वर्तमान परिप्रेक्ष्यमा सामान्य उपभोक्ताहरुले आफै विद्युत उत्पादन राष्ट्रिय प्रसारणमार्फत गरी विक्री गर्ने र आफुलाई आवश्यक विद्युत प्राप्त गरी राष्ट्रलाई र व्यक्तिलाई समेत फाईदा पुग्ने भएकोले सोलार रुफटप नेटमिटिरिंग विधि नेपालको लागि उपयुक्त छ भन्ने बारे नीति निर्माताहरु र आम जनमानसमा संवाद र छलफल हुनु आवश्यक छ।

easy care

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार

ताजा समाचार