फिक्स्ड ब्रोडब्यान्डका प्रयोगकर्ता एक महिनामा १ लाख ७० हजारभन्दा धेरै थपिए

Technology Khabar २८ माघ २०७८, शुक्रबार

फिक्स्ड ब्रोडब्यान्डका प्रयोगकर्ता एक महिनामा १ लाख ७० हजारभन्दा धेरै थपिए

काठमाडौं ।

नेपालमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या ९१ लाख ३७ हजार १२७ पुगेको छ।

यो सङ्ख्या वायर्ड र वायरलेस फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्नेको समग्र आँकडा हो।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मंसिर* महिनासम्मको तथ्यांकअनुसार यो आँकडा आएको हो।

यो समग्र संख्यामा फिक्स्ड ब्रोडब्यान्डको वायर्डतर्फका  एडीएसएल सेवा प्रयोगकर्ताहरुको संख्या ६ लाख ४२ हजार ८६७, एफटीटीएचका ८२ लाख ८१ हजार ८२४ तथा इन्टरनेट लिज लाइनका १ हजार १९०  रहेका छन्।

यस्तै वायरलेसतर्फ रेडियो वाइफाइका १ लाख २० हजार ६४३ तथा वाइम्याक्सका ९० हजार ६०३ पनि समावेश छन्।

सार्वजनिक भएको तथ्याङ्क अनुसार एडीएसएलका समग्र  ६लाख ४२ हजार ८६७ नेपाल टेलिकमका रहेका छन्।

यस्तै केबल/एफटीटीएचतर्फको ८२ लाख ८१ हजार ८२४ मा भने नेपाल टेलिकमका ७ लाख ७६ हजार ६७२ तथा इन्टरनेट सेवा प्रदायक आईएसपीहरुका ७५ लाख ०५ हजार १५२ रहेका छन्।

फिक्स्ड ब्रोडब्यान्डको समग्र वायरलेसतर्फ रेडियो वाइफाइको १ लाख २० हजार ६४३ सबै आईएसपीहरुका तथा नेपाल टेलिकमो वाईम्याक्सका प्रयोगकर्ता ९० हजार ६०३ रहेका तथ्याङ्कमा जनाइएको छ।

एफटीटीएचतर्फ एक महिनामै बढे २ लाख ३ हजारभन्दा धेरै

तथ्याङ्क अनुसार फिक्सड वायर्डतर्फ केबल/एफटीटीएचका ग्राहक मंसिर महिनामा २ लाख ३ हजार २४७ थपिएका छन्।

केबल/एफटीटीएचका ग्राहक कार्तिक महिनामा ८० लाख ७८ हजार ५७७  रहेकामा मंसिर मसान्तसम्म आइपुग्दा ८२ लाख ८१ हजार ८२४ पुगेका छन्।

एडीएसएल र इन्टरनेट लिज लाइनका ग्राहक घटे

कार्तिक महिनामा एडीएसएलका समग्र ग्राहक ६ लाख ७६ हजार ११९ रहेकामा मंसिर मसान्तसम्म आइपुग्दा ३३ हजार २५२ ले घटेर ६ लाख ४२ हजार ८६७मा झरेका छन्।

वाईम्याक्सका यथावत्

कार्तिक मसान्तसम्म ९० हजार ६०२ ग्राहक सङ्ख्या रहेका नेपाल टेलिकमको वाईम्याक्स सेवा प्रयोगकर्ताको सङ्ख्या मंसिर मसान्तसम्म आइपुग्दा कुनै घटबढ भएको छैन।

रेडियो वाइफाइका बढे 

फिक्स्ड ब्रोडब्याण्ड अन्तर्गत इन्टरनेट सेवा प्रदायकहरुले दिँदै आएका रेडियो वाइफाइ सेवाका ग्राहक अघिल्लो महिनाको तुलनामा केही बढेका छन्।

यो सेवा लिनेको सङ्ख्या कार्तिक मसान्तसम्म १ लाख २० हजार ६३ रहेकामा मंसिर मसान्तसम्म आइपुग्दा ५८० ले बढेर १ लाख २० हजार ६४३ पुगेको छ।

*मंसिर हुनुपर्नेमा पुष भएकोमा सच्याईएको छ।

easy care

प्रकाशित: २८ माघ २०७८, शुक्रबार