विद्युतीय भुक्तानी प्रणाली अब ७५३ वटै स्थानीय तहमा सञ्चालन

Technology Khabar २५ भाद्र २०७८, शुक्रबार

विद्युतीय भुक्तानी प्रणाली अब ७५३ वटै स्थानीय तहमा सञ्चालन

काठमाडौं ।

नेपालका ७५३ वटै स्थानीय तहको भुक्तानी विद्युतीय माध्यमबाट वास्तविक समयमा गर्न सकिने प्रणाली कार्यान्वयनमा आएको छ।

महालेखा नियन्त्रक कार्यालयले कार्यान्वयनमा ल्याएको नयाँ प्रणाली लागू भएसँगै स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र/SuTRA) मार्फत विद्युतीय कोष हस्तान्तरण गर्न सकिने भएको हो ।

महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहीबार सो प्रणालीको शुभारम्भ गरे ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत विद्युतीय कोष हस्तान्तरण गर्न सकिने प्रणाली ७५३ वटै स्थानीय तहमा कार्यान्वयनमा आएको हो । प्रणालीमार्फत अब सबै स्थानीय तहको भुक्तानी विद्युतीय माध्यमबाट वास्तविक समयमा हुनेछ। यसले भुक्तानी र लेखाङ्कन रियल टाइममा गर्न सक्छ ।

महालेखा नियन्त्रक अर्यालले छिटो, छरितो, भरपर्दो र विश्वनीय लेखाङ्कन र प्रतिवेदनका लागि सूत्रको महत्वपूर्ण योगदान रहेको बताए । उनले शासकीय संयन्त्रमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने बताए ।

यस प्रकारको प्रणालीले स्थानीय तहमा पारदर्शीता कायम गर्न सहयोग गर्ने बताईएकोछ। यसका साथै सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ।

चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटो छरितो समेत हुने छ। यसले प्रक्रियागत झन्झट हट्ने र कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

easy care

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार