कोरोना संक्रमण बढेसँगै विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन

Technology Khabar ६ बैशाख २०७८, सोमबार

कोरोना संक्रमण बढेसँगै विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन
फाइल

काठमाडौं ।

कोरोनाभाइरसको दोस्रो लहर र संक्रमण दर बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ९ बुँदे निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्ण सजगताका साथ सेवा सुचारु गराउन र विद्युतीय माध्यमबाट कारोबार गर्न गराउन राष्ट्र बैंकले भनेको छ।

राष्ट्र बैंकले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्दै सेवाग्राहीबीच भौतिक दूरी कायम हुने व्यवस्था मिलाएर सेवा प्रवाह गर्न तथा सेवाग्राहीको आवतजावत सकेसम्म कम हुनेगरी सेवा प्रदान गर्न भनेको छ।

यसका साथै सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि ढोका खुला राखी सेनिटाइजर तथा टिस्यु पेपरको व्यवस्था गर्न समेत भनिएको छ।

यस बाहेक बैंक तथा वित्तीय संस्थाहरुले संचालन गर्ने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दुरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म यस्ता कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।

easy care

प्रकाशित: ६ बैशाख २०७८, सोमबार