फोरजी सपोर्ट गर्ने सेटहरु मात्र नेपालमा आयात गर्न दिनुपर्ने नेपाल टेलिकमको माग

Technology Khabar ५ चैत्र २०७७, बिहीबार

फोरजी सपोर्ट गर्ने सेटहरु मात्र नेपालमा आयात गर्न दिनुपर्ने नेपाल टेलिकमको माग
नेपाल टेलिकमको फोरजी सेवाको लोगो । फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले नेपालमा आयात हुने मोबाइल सेटहरुमा नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको छ।

नेपाल टेलिकमले हालै दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै नेपालमा उपलब्ध र प्रयोगमा रहेका तथा आफूले प्रयोग गर्दै आएको फ्रिक्वेन्सी ब्याण्डहरु मात्र चल्ने मोबाइल फोन आयात र स्वीकृति दिन अनुरोध गरेको हो।

कम्पनीले पछिल्लो दिनमा देशभर फोरजी सेवा बिस्तार गरिरहेको र सोहिअनुसार फोरजी सेवाको बजारीकरण गर्नका लागि फोरजी फ्रिक्वेन्सीहरु सपोर्ट गर्ने सेटहरु मात्र आयातको अनुमति दिनुपर्ने गरि व्यवस्था गराउन माग गरेको हो ।

हालै टेलिकमले प्राधिकरणमा सो आशयसहितको पत्र पठाएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।

कम्पनीले फोरजी सेवाको लागि ब्याण्ड २० अर्थात ८०० मेगाहर्ज ब्याण्ड, ९०० मेगाहर्ज ब्याण्ड, १८०० मेगाहर्ज ब्याण्ड, २१०० मेगाहर्ज ब्याण्ड र २३०० मेगाहर्ज ब्याण्ड प्रयोग गरिरहेको छ ।

जसमध्ये ८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले फोरजी सेवा सञ्चालन गरिरहेपनि त्यसअनुसारको आम्दानी र लाभ कम्पनीले पाउन सकेको छैन् । आफूले प्रयोग गरिरहेको फ्रिक्वेन्सी ब्याण्डमा फोरजी सेटहरु चल्नै कठिन भोगिरहेको टेलिकमले सो ब्याण्डबाट आम्दानी गर्न सकेको छैन् ।

‘प्राधिकरणबाट मोबाइल सेट आयातको लागि अनुमति प्रदान गर्दा दूरसञ्चर सेवाको रेडियो फ्रिक्वेन्सी(बाँडफाँड तथा मूल्य सम्बन्धि) नीति, २०६९ तथा पहिलो संसोधन २०७३ एर्व प्राधिकरणबाट फोरजी सेवा संचालन गर्न प्रदान गरेका फ्रिक्वेन्सी ब्याण्डहरु सपोर्ट गर्ने सेटहरुलाई मात्र स्वीकृति दिँदा ह्याण्डसेट इकोसिस्टम सुदृढ भएमा सेवाग्राही तथा सेवाप्रदायक लाभान्वित हुनेछन्,’ कम्पनीले पठाएको पत्रमा भनिएको छ ।

कम्पनीले आफूले फोरजी सेवा प्रदान गर्न प्रयोग गरिरहेका ब्याण्डहरु भएको ह्याण्डसेटहरु मात्र आयात र स्वीकृत गराउन खोजेको प्राधिकरणका एक अधिकारीले बताए ।

‘कम्पनीले आफ्नो मात्र फाइदा हेर्नु स्वभाविक हो तर अन्य फ्रिक्वेन्सीहरु पनि प्रयोग भईरहेका छन भने फोरजी मात्र नभई टूजी र थ्रीजी सेवा पनि संचालनमा छन्,’ ती अधिकारीले भने, त्यसैले हामीले सबैलाई सहज हुनेगरि नीति बनाउने र काम गर्ने हो ।’

कम्पनीले आफूले हाल चलाईरहेको ब्याण्ड २० लाई मुख्यगरि बजारीकरण गर्न नसक्दा कठिनाई भएको घुमाउरो तरिकाले स्वीकार्दै सोहि ब्याण्डमा चल्ने फोनहरु आयात गराउन सहजीकरणको लागि अनुरोध गरेको हो ।

कम्पनीले नेटवर्क बिस्तारमा अर्बौं लगानी भएको र अर्बौं  रुपैयाँमा नेपालमा मोबाइल फोनसेट आयात हुने गरेको भन्दै न्यून ब्याण्डमा फोरजी सेवालाई सपोर्ट नगरेको उल्लेख गरेको छ ।

ब्याण्ड २० अर्थात ८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा कम्पनीले हाल फोरजी सेवाका साथसाथै सिडिएमए सेवा पनि संचालन गरिरहेको छ ।

तर सरकारले सिडिएमए सेवा आगामी २ वर्षभित्र नेपालबाट फेजआउट गर्ने योजना राखेको छ । त्यसपछि कम्पनीले पुरै फोरजी सेवा मात्र चलाउनेछ ।

ब्याण्ड २० विशेषगरी दूर्गम भेगमा तथा भौगोलिक कठिनाई भएको क्षेत्रमा लामो दूरीमा नेटवर्क प्रयोग गर्नका लागि उपयुक्त ब्याण्ड मानिन्छ र विश्वभर ब्याण्ड २० तथा ब्याण्ड २८ लाई यसको लागि प्रयोग गर्ने गरिन्छ। मूख्य गरि यस्तो ब्याण्ड दूर्गम क्षेत्रमा प्रयोग हुने गरेको छ ।

नेपालमा ८०० मेगाहर्ज ब्याण्डमा नेपाल टेलिकमले मात्र सेवा संचालन गरिरहेको छ भने ७०० मेगाहर्ज ब्याण्डलाई प्राधिकरणले अक्सनमार्फत बिक्री गर्ने योजना गरिरहेको छ।

easy care

प्रकाशित: ५ चैत्र २०७७, बिहीबार

ताजा समाचार