सगरमाथाको उचाई नाप्न प्रयोग गरिएको जीएनएसएस र जीपीआर प्रविधि के हो ? यहाँ बुझ्नुहोस्

Technology Khabar २३ मंसिर २०७७, मंगलवार

सगरमाथाको उचाई नाप्न प्रयोग गरिएको जीएनएसएस र जीपीआर प्रविधि के हो ? यहाँ बुझ्नुहोस्

काठमाडौं ।

नेपाल र चीनले संयुक्तरुपमा सगरमाथा शिखरको उचाई मापन गरेर सार्वजनिक गरेका छन् । नेपालले आफ्नै प्रयासमा आधुनिक प्रविधि प्रयोग गरेर पहिलो पटक सगरमाथाको उचाई मापन गरेको हो।

नेपालले सिरहाको माडरमा आधारबिन्दु कायम गरेर सगरमाथाको उचाई मापन गरेको हो । सो क्रममा २४० किलोमिटर मापन गरिएको थियो भने मापनको लागि ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (जीएनएसएस) र जीपीआर प्रविधि र ग्राभिटी सर्वेक्षण गरिएको थियो ।

सगरमाथाको उचाई मापनको क्रममा ३४३ जीएनएसएस सर्वेक्षण बिन्दु कायम गरिएको थियो भने सगरमाथाको चुचुरोमा समेत १ घण्टा १६ मिनेटसम्म जीएनएसएस मापन गरिएको थियो ।

जसमा सगरमाथालाई केन्द्रमा राखेर वरिपरिका चीन र भारतको सिमासम्मका १० बिन्दुहरुको जीएनएसएस मापन गरिएको नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए ।

यसका साथै यसमा चीनको तर्फबाट भने आफैंले विकास गरेको जीएनएसएस रिसिभरको प्रयोग गरेको थियो भने ग्राभिटी मिटर विभिन्न सेन्सरहरुको प्रयोग गरिएको जानकारी दिईएको छ ।

त्यसैगरि चीनको तर्फबाट आफ्नै जीपीएनएस अर्थात बैदु स्याटेलाइट नेभिगेसन सिस्टम समेत प्रयोग गरेको जानकारी दिएको छ।

के हो जीएनएसएस प्रविधि ?

यो स्याटेलाइटहरुको विश्वव्यापी सञ्जाल हो । ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टमले अन्तरिक्षमा रहेका स्याटेलाइटहरुको संजाललाई बुझाउँदछ जसले अन्तरिक्षबाट संकेतहरू प्रदान गर्दछ जसको सहयोगमा पृथ्वीमा भएका जीनएनएसएस रिसीभरलाई सहि स्थिति र समयको डाटा प्रसारण गर्दछ। ती रिसीभरहरूले त्यसपछि स्थानको सटिक मापन र निर्धारण गर्न यो डाटा प्रयोग गर्दछन् ।

विश्वभर प्रमुखरुपमा चार जीनएनएसएस सिस्टमहरु प्रयोगमा रहेका छन् । जसमा यूरोपको ग्यालिलियो, अमेरिकाको नाभस्टार ग्लोबल पोजिसनिङ्ग सिस्टम अर्थात जीपीएस, रसियाको ग्लोनास र चीनको बैदु रहेका छन् ।

यो प्रणाली हाल विभिन्न स्मार्टफोनहरुसहित गुगल म्याप्समा पनि प्रयोग हुँदै आएको छ । यो प्रविधि र सिस्टमबाट चाहेको स्थानको स्पष्ट र सहि तथ्यांक र जानकारी प्राप्त गर्न सकिन्छ ।

के हो जीपीआर प्रविधि ?

ग्राउण्ड पेनेट्रेटिङ्ग राडार (जीपीआर) एक जियोफिजिकल विधि हो जुन उप-सतह तस्वीर तयार गर्न राडारको संकेत प्रयोग गर्दछ। यो भूमिगत उपयोगिताहरू जस्तै कंक्रिट, धातु, पाइप, केबुल जस्ता विषयहरु अनुसन्धान गर्न उप-सतह सर्वेक्षण गर्ने गैर-हस्तक्षेपकारी विधि हो।

यो विधिले रेडियो स्पेक्ट्रमको माइक्रोवेभ ब्यान्ड (यूएचएफ र भीएचएफ फ्रिक्वेन्सी) मा विद्युत चुम्बकीय विकिरण प्रयोग गर्दछ र उप-सतह संरचनाहरूबाट प्रतिबिम्बित संकेतहरू पत्ता लगाउँदछ। जीपीआरमार्फत जमिनमुनि भएका विभिन्न  सामाग्रीहरु जस्तै चट्टान, माटो, बरफ, ताजा पानी, लगायतको अवस्था थाहा पाउन सहयोग गर्दछ।

यो प्रविधि विभिन्न निर्माण र भौतिक संरचनाहरु बनाउँदा सो अवस्थामा प्रयोग गर्ने गरिन्छ ।

easy care

प्रकाशित: २३ मंसिर २०७७, मंगलवार