सूचना प्रविधि क्षेत्रका लागि भारी कर छुटको नीति अपनाउन नेपाली कांग्रेसको सुझाब

Technology Khabar ११ जेष्ठ २०७७, आईतवार

सूचना प्रविधि क्षेत्रका लागि भारी कर छुटको नीति अपनाउन नेपाली कांग्रेसको सुझाब
फाइल

काठमाडौं ।

नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) ले असर पारेको देशको आर्थिक अवस्थाको बारेमा प्रतिवेदन तयार पार्दै सूचना प्रविधि क्षेत्रलाई भारी कर छुट दिनुपर्ने सुझाब दिएको छ ।

कांग्रेसको अर्थतन्त्र केन्द्रित विशेष समितिले तयार पारेको मस्यौदा* प्रतिवेदनमा डिजिटल प्रविधिलाई महत्व दिनुपर्ने उल्लेख गरिएको छ ।

समितिले अहिलेको अवस्थालाई मुल्यांकन गरेर आगामी दिनमा चाल्नुपर्ने कदमहरुको बारेमा समेत सुझाब दिएको छ ।

सो प्रतिवेदनअनुसार नेपालमा हाल १ लाख मानिसहरुले सूचना प्रविधिको क्षेत्रमा रोजगार पाएका छन् ।

कांग्रेसले अहिलेको अवस्थामा डिजिटल प्रविधिको प्रयोग बढिरहेको भन्दै त्यसलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने बताएको हो ।

‘चाँडो सेवा प्राप्त हुन सक्नेर प्रक्रिया लागत कम हुने हुँदा कोरोना संक्रमण पश्चात पनि यस प्रविधि प्रयोग क्षेत्रहरु विस्तारित गरी रोजगारीका अवसरहरु बढाउन प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नु पर्नेछ,’ सो प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरि सफ्टवेयर निर्माण विकास, ई-हेल्थ, ई-लर्निंग, ई-बैकिंग आदिलाई प्रवर्द्धन गर्ने नीति अपनाउँदै डिजिटल सेवामा भारी कर छुटको नीति अपनाउन पर्ने सुझाब दिईएको छ।

साथै स्थानीय र प्रादेशिक सरकारको सहकार्यमा मानव संसाधन विकासको लागी डिजिटल प्रविधिको प्रयोग गर्ने तर्फ ध्यान दिनु पनि उचित हुने उल्लेख छ । । कृषि-उद्यम, विशिष्टिकृत उत्पादनमुलक उद्योग तथा डिजिटलाइजेशनमा उच्च प्राथमिकता दिनुपर्ने देखिएको विशेष समितिको ठहर छ ।

बजारीकरण, बजार मुल्यको जानकारी, मौसमको जानकारी लगायतका अन्य गतिविधिमा डिजिटल प्रविधिको प्रयोग गर्न अभिप्रेरित गर्न भनिएकोछ, जसले गर्दा लागत मुल्य घट्ने र किसानले आफ्नो उत्पादनको सहि मुल्य पाउने ब्यवस्था हुनेछ।

ठुलो रोजगारीको सम्भावना बोकेको डिजिटल प्रविधिको विकासका लागि विशेष किसिमका तालिम, अध्ययन अनुसन्धानका कार्यक्रमहरु ल्याउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

डा रामशरण महतको संयोजकत्वमा तयार पारिएको सो प्रतिवेदन कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष प्रस्तुत गरिएको कांग्रेसले जनाएको छ । *अपडेट

easy care

प्रकाशित: ११ जेष्ठ २०७७, आईतवार