कोरोनाभाइरसबाट बचाउन इन्टरनेटमा आधारित मास्क भेण्डिङ्ग मेसिनको विकास

Technology Khabar १२ फाल्गुन २०७६, सोमबार

कोरोनाभाइरसबाट बचाउन इन्टरनेटमा आधारित मास्क भेण्डिङ्ग मेसिनको विकास

काठमाडौं ।

काठमाडौं । स्मार्ट भेण्डिङ्ग मेसिन सोलुसन डेभलपर याल्भेण्डले इन्टरनेट कनेक्टेड मास्क भेण्डिंग मेसिन परीक्षणको लागि बनाएको छ । कम्पनीले हाल ताइवानको ताइपेईमा सो भेण्डिङ्ग मेसिन जडान गरेको छ ।

पछिल्लो दिनमा चीनबाट शुरु भएको कोरोनाभाइरस विश्वभर फैलिएको छ जसले गर्दा मानिसहरुमा त्रास फैलिएको छ । चीन दक्षिण कोरियामा अधिकांश मानिसहरु सुरक्षाको लागि मास्क प्रयोग गरिरहेका छन् । त्यसैले कम्पनीले मास्क भेण्डिङ्ग मेसिन तयार पारेको हो ।

ताइवानको सरकारले पनि सर्जिकल मास्क आवश्यक पर्नेहरुलाई उपलब्ध गराउन थालेको छ भने भाइरस फैलिएसँग मास्कको अभाव देखिएको छ । ताइवानमा अब सर्जिकल मास्क नेशनल हेल्थ इन्स्योरेन्स प्रोग्राम भएका फार्मेसीहरुमा मात्र उपलब्ध हुने गर्दछ भने मानिसहरुले सर्जिकल मास्क किन्नका लागि आफ्नो स्वास्थ्य कार्ड देखाउनुपर्नेछ ।

भेण्डिंग मेसिनबाट मास्क किन्नका लागि मानिसहरुले क्यूआर कोड स्क्यान गर्नुपर्नेछ र त्यसपछि मात्र मेसिनमा भएको मास्क किन्न सकिनेछ। यसको लागि ग्राहकहरुले आइडी कार्डमा भएको फोटो स्क्यान गर्नुपर्नेछ भने भेण्डिङ्ग मेसिनमा भएको क्यामरामार्फत उनीहरुको इमेज रिकोग्निसन परीक्षण हुनेछ, त्यसपछि कार्डको फोटो र अनुहार मिलेपछिमा मात्र उनीहरुले मेसिनमा भएको बटन थिच्न सक्नेछन् ।

भेण्डिङ्ग मेसिनबाट मास्क लिनको लागि करिब १ मिनेट लाग्नेछ भने कम्पनीका सिईओ डुनकान हुआङ्गकाअनुसार यो वेबमा आधारित भएको हुँदा डाटा सुरक्षित रहेको छ ।

अहिलेको परीक्षण सफल भएको खण्डमा कम्पनीले बेव पेजमा आधारित इन्टरनेट कनेक्टेड मास्क भेण्डिङ्ग मेसिनलाई अन्य अस्पतालहरुमा समेत जडान गर्ने योजना लिएको छ । एजेन्सी

easy care

प्रकाशित: १२ फाल्गुन २०७६, सोमबार