Technology Khabar २९ माघ २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । सामसङले आफ्नो ग्यालेक्सी एस २० सिरिजका साथमा नयाँ फोल्डेबल स्मार्टफोन पनि सार्वजनिक गरेको छ । यसअघि नै चर्चामा रहेको ग्यालेक्सी जेड फ्लिप स्मार्टफोन अनप्याक्ड इभेन्टमा सार्वजनिक गरेको हो ।
यो फोल्डेबल स्मार्टफोन सामसङको यसअघिको ग्यालेक्सी फोल्ड डिजाइन भन्दा पुरै फरक रहेको छ । यो फोन ठाडोरुपमा फोल्ड हुनेगर्दछ र यो मोटोरोलाको रेजर फोन जस्तै डिजाइनमा आएको छ ।
ग्यालेक्सी जेड फ्लिपमा ठूलो साइजको स्क्रीन रहेको छ जसमा बाहिरी भागमा सानो सूपर एमोलेड स्क्रीन १.०६ इन्चमा पनि छ । बाहिरी भागमा मुख्य क्यामराका साथमा प्रयोगकर्ताहरुले डिस्प्लेमा नोटिफिकेसनहरु हेर्न सक्दछन् ।
यसबाहेक फोल्डेबल फोनलाई आधा मात्र फोल्ड गरेर पनि हेर्न सकिन्छ ।
ग्यालेक्सी जेड फ्लिप फोल्डेबल स्मार्टफोनलाई पुरै खोल्दा ६.७ इन्चको डिस्प्ले साइज छ भने यसको स्क्रीन फ्रिक्वेन्सी ६० हर्जको छ ।
फोनको स्क्रीनमा सानो पन्च होल राखिएको छ जहाँ १० मेगापिक्सेलको सेल्फी क्यामरा छ । फोन स्न्यापड्रागन ८५५ प्लस चीपसेटका साथमा उपलब्ध हुनेछ भने यसमा ८ जीबी र्याम र २५६जीबीको स्टोरेज अप्सन रहेको छ ।
ग्यालेक्सी जेड फ्लिपमा ३३०० एमएएचको ब्याट्रि प्याक रहेको छ भने यसमा १५ वाटको यूएसबी केबल टाइप सी तथा ९ वाट वायरलेस चार्जर छ ।
सामसङ ग्यालेक्सी जेड फ्लिप फोल्डेबल स्मार्टफोनमा ब्लूटूथ ५.०, एनएफसी, वाईफाईलगायत फिंगरप्रिन्ट रिडर राखिएको छ । फोनमा १२ मेगापिक्सेलको डुअल मुख्य क्यामरा छ ।
सामसङ ग्यालेक्सी जेड फ्लिप फोल्डेबल स्मार्टफोन प्रि अर्डरको लागि उपलब्ध छ भने यो ब्ल्याक र पर्पल कलर अप्सनमा उपलब्ध हुनेछ ।
कम्पनीले यो सामसङ ग्यालेक्सी जेड फ्लिप फोल्डेबल स्मार्टफोनलाई बजारमा १,३८० डलर मूल्यमा बिक्री गर्ने घोषणा गरेको छ ।
नेपाली बजारमा यसअघि सामसङले लन्च गरेको ग्यालेक्सी फोल्ड निकै महंगो भएको भन्दै लन्च गरेको थिएन भने यो स्मार्टफोन पनि नेपाली बजारमा आउने वा नआउने भन्ने स्पष्ट छैन् ।
प्रकाशित: २९ माघ २०७६, बुधबार