डिसहोम फाइबरनेटको गैरकानूनी कार्य, इन्टरनेट सेवा प्रदायकको लाइसेन्स नै नलिई प्रबर्द्धन

Technology Khabar २१ माघ २०७६, मंगलवार

डिसहोम फाइबरनेटको गैरकानूनी कार्य, इन्टरनेट सेवा प्रदायकको लाइसेन्स नै नलिई प्रबर्द्धन

काठमाडौं ।

काठमाडौं । नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिसहोमले अनुमति नै नलिई इन्टरनेट सेवाको प्रचार गरिरहेको पाईएको छ । डिस मिडिया नेटवर्क लिमिटेडअन्तरगत डिसहोमले इन्टरनेट सेवा प्रदायक कम्पनीको नाममा गैरकानूनी कार्य गरिरहेको भेटिएको हो ।

कम्पनीले हालै सार्वजनिकरुपमा नै डिस होमअन्तरगत फाइबरनेटको नाममा ग्राहकहरुका लागि इन्टरनेट सेवा उपलब्ध गराउने भन्दै अनधिकृत कार्य गरिरहेको भेटिएको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनी संचालनको लागि नेपाल दूरसंचार प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानूनी प्रावधान छ भने कम्पनीले सो अनुमति नै नलिईकन आफ्नो सेवाको प्रचार प्रसार गर्दै आएको हो ।

प्राधिकरणका एक अधिकारीअनुसार हालसम्म कम्पनीले लाइसेन्स प्राप्त गरेको छैन् । सो विषयमा कम्पनीले अनुमतिको लागि निवेदन दिएको र सो निवेदन प्रकृयामा नै रहेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

कम्पनीले इन्टरनेट सेवा प्रदायकको लाइसेन्स नै नलिई सेवा संचालन गर्न पाईँदैन भने प्रचार प्रसार गर्न र शुल्क तोक्नुभन्दा अगाडि अनुमति लिनुपर्ने नत्र शुल्क समेत तोक्न नपाईने कानूनी प्रावधान रहेको छ । तर कम्पनीले सो कानूनी प्रावधानको खिल्ली उठाउँदै आफूले इन्टरनेट सेवा चाँडै शुरु गर्न लागेको र यो महिनाभित्र सेवा उपलब्ध भईसक्ने भन्दै शुल्कसहित प्रबद्र्धन गरेको हो ।

कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर सुदिप आचार्यले नै आफ्नो फेसबुकमा डिसहोम फाइबरनेट नामक प्रबद्र्धनात्मक विज्ञापन शेयर गरेको देखिन्छ । जसमा डिसहोमले २५ एमबिपिएसको सेवा दिने उल्लेख छ ।

लाइसेन्स नै नलिएको कम्पनीले सेवाको शुल्कदर तोकेर ग्राहकहरुलाई आफ्नो इन्टरनेट सेवाको प्रचार र सेवा लिनका लागि फोन नम्बरमा कल गर्न भनेको छ भने कम्पनीले इमेल पठाएर ग्राहकहरुलाई सेवा र शुल्कदर बारे जानकारी गराईरहेको छ ।कानूनमा के छ ?

इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र नै नलिई सेवाको प्रबद्र्धन गर्नु दूरसंचार ऐन विपरित हुने दूरसंचार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालको भनाई छ ।

‘इन्टरनेट सेवा संचालन गर्न दूरसंचार ऐन २०५३ अनुसार लाइसेन्स लिनुपर्ने हुन्छ भने सेवाको दरसमेत स्वीकृत गराएर मात्र लागू गराउन पाईन्छ, यदि अनुमति नै नलिई सेवा प्रबद्र्धन गरेको भए ऐनअनुसार गैरकानूनी काम हुन्छ,’ उनले भने ।

उनका अनुसार यसमा दूरसंचार प्राधिकरणले कारबाही गर्नसक्ने अधिकार हुन्छ ।

दूरसंचार ऐन २०५३ मा पनि स्पष्टरुपमा अनुमति नलिई सेवा संचालन गर्न नपाईने व्यवस्था रहेको छ । ऐनको दफा २१ मा भनिएको छ, ‘अनुमतिपत्र नलिई दूरसंचार सेवा संचालन गर्न नपाईने यो ऐन प्रारम्भ भएपछि कसैले पनि अनुमतिपत्र नलिई दूरसंचार सेवा संचालन गर्न पाउने छैन् ।’

तर डिस होमले संचालन गर्ने फाइबरनेटको हालसम्म अनुमति पत्र प्राप्त गरेको छैन् भने कम्पनीले अनुमतिको लागि दिएको निवेदन प्राधिकरणमा प्रकृयामा नै रहेको छ ।

सेवा शुल्क दरमा कानूनी प्रावधान

अर्कोतर्फ अनुमतिपत्र लिएका इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकहरुलाई दिने इन्टरनेट सेवाको स्पीडको तह र सेवाशुल्कको लागि पनि दूरसंचार प्राधिकरणसँग पूर्व स्वीकृती लिनुपर्ने कानूनी प्रावधान छ । हाल संचालनमा रहेका इन्टरनेट सेवा प्रदायकहरुले पनि आफूले लिने सेवा शुल्क शुरुमा नै दूरसंचार प्राधिकरणबाट स्वीकृत गराएर मात्र लागू गर्ने र प्रबद्र्धन गर्ने गर्दछन् ।

तर लाइसेन्स नै नभएको डिसहोमले आफ्नो सेवाशुल्क र दरहरुको बारेमा प्रचार गरेको छ भने सोधखोज गर्ने ग्राहकहरुलाई समेत इमेल र फोनमार्फत सेवा शुल्कहरुको बारेमा जानकारी दिईरहेको भेटिन्छ ।

डिसहोम फाइबरनेटको लागि कम्पनीले ९८०१५४४००० हटलाइन उपलब्ध गराएको कम्पनीको सोहि विज्ञापनमै उल्लेख छ ।

सो फोनमा सम्पर्क गर्ने ग्राहकहरुलाई यसअघि बेलुकासम्म नै सेवा जडान गर्न सकिने भनेर बताउँदै आएको कम्पनीले सोमबारदेखि भने यो महिनाभित्रै सेवा शुरु गर्ने र त्यसपछि कनेक्सन जोड्न सकिने भन्दै आएको छ । कम्पनीका कर्मचारीले फाइबरमार्फत इन्टरनेट सेवा दिने जानकारी दिँदै आएका छन् ।

यसबाहेक इमेलमार्फत पनि सेवाको बारेमा कम्पनीले जानकारीहरु दिईरहेको छ ।दूरसंचार ऐनमा भने सेवा शुल्कबारे दफा ४२ मा उल्लेख छ । जहाँ- ‘अनुमति प्राप्त व्यक्तिले ग्राहकलाई दूरसंचार सेवा उपलब्ध गराए बापत सेवा शुल्क लगाउन र असुल गर्न सक्ने’ उल्लेख छ भने सो दफाको उपदफा १(क)मा -‘त्यस्तो सेवा शुल्कको दर प्राधिकरणबाट स्वीकृत भएको हुनु पर्नेछ’ भन्ने स्पष्ट उल्लेख छ ।

त्यसैगरि १ (ख)मा- ‘त्यस्तो सेवा शुल्कको दर प्राधिकरणले निर्देश गरे बमोजिम प्रकाशन गरेको हुनुपर्नेछ’ भने उपदफा (२)मा- ‘अनुमतिपत्र प्राप्त व्यक्तिले सेवा शुल्कको दरको सूची प्राधिकरणले जारी गरेको तत्सम्बन्धी निर्देशिकाको आधारमा तयार गरी सो सूची लागू हुने दिनसमेत उल्लेख गरी त्यसको कम्तीमा तीन महिना अगावै स्वीकृतीको लागि प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ,’ भन्ने लेखिएको छ ।

डिसहोम फाइबरको सेवा शुल्क दर

कम्पनीका अधिकारीले शेयर गरेको डिसहोम फाइबरनेटको प्रबद्र्धन सामाग्रीमा मासिकरुपमा २५ एमबिपिएसको १,१००/- रुपैयाँ शुल्क लाग्ने र एक वर्षको सेवा लिएमा १०,०००/- रुपैयामा नै सेवा उपलब्ध हुने उल्लेख छ । त्यस्तै यसबाहेक इन्टरनेट सेटअप गर्नको लागि एक पटकको शुल्कअन्तरगत ड्रप वायर शुल्क, फाइबर राउटर रेन्टल चार्ज, रिफण्डेबल डिपोजिट र इन्स्टलेसन चार्जलगायतका शुल्क लाग्ने उल्लेख छ ।

त्यसैगरि डिसहोम र सिम टिभीका ग्राहकहरुको लागि विशेष शुल्क तोकिने उल्लेख छ ।

तर यो समाचार तयार पार्ने समयसम्म कम्पनीले दूरसंचार प्राधिकरणबाट इन्टरनेट सेवा संचालनको अनुमति प्राप्त गरेको छैन् । दूरसंचार प्राधिकरणले अनुमतिपत्र प्राप्त गरेका इन्टरनेट सेवा प्रदायकहरुको नामावली आफ्नो वेबसाइटमा राख्ने गरेको छ भने सो नामावलीमा कहिँकतै डिसहोमको नाम उल्लेख छैन् । अनुमतिपत्र नै नपाएको कम्पनीले दूरसंचार प्राधिकरणबाट सेवा शुल्क स्वीकृत गराउन सक्ने संभावना नै हुँदैन् ।यसअघि दूरसंचार प्राधिकरणले फेसबुकमार्फत नै विज्ञापन र प्रचार गरेको तनहुँको एक कम्पनीलाई अनुमतिबिना नै सेवा संचालन गरेको भन्दै कारबाही गरेको थियो भने उपकरणहरु समेत जफत गरेको थियो।

easy care

प्रकाशित: २१ माघ २०७६, मंगलवार

ताजा समाचार