मोबाइल बैंकिङ्ग प्रयोगकर्ता एकैवर्षमा ३२ लाखभन्दा बढि थपिए, इन्टरनेट बैकिङ्गको प्रयोग पनि बढ्दो

Technology Khabar ३० आश्विन २०७६, बिहीबार

मोबाइल बैंकिङ्ग प्रयोगकर्ता एकैवर्षमा ३२ लाखभन्दा बढि थपिए, इन्टरनेट बैकिङ्गको प्रयोग पनि बढ्दो

काठमाडौं ।

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ्गको प्रयोगकर्ता ८३ लाख ४७ हजार पुगेका छन् । हालै नेपाल राष्ट्र बैंक, अनुसंधान विभागले सार्वजनिक गरेको नेपालमा वित्तीय पहुँचको स्थिति नामक अध्ययन तथ्यांकअनुसार नेपालमा २०७६ साल असोज सम्ममा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको संख्यामा ५ गुणाले वृद्धि हुँदै ८३ लाख ४७ हजार १ सय ८७ पुगेको हो ।

अध्ययनअनुसार यसअघि वि.सं. २०७३ सालमा यो संख्या केबल १७ लाख ५५ हजार रहेको थियो।

राष्ट्र बैंककाअनुसार सोहि अवधिमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताहरुको संख्या पनि ५ लाखबाट बढेर ९ लाख १७ हजार ३ सय ४४ पुगेको छ भने शाखारहित बैंकिङ्ग केन्द्रहरुको संख्या पनि बढिरहेको छ।

सार्वजनिक तथ्यांकको आधारमा हेर्दा २०७५ सालमा मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुको संख्या ५० लाख ८६ हजार ०६९ रहेको थियो भने इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताहरुको संख्या सोहि अवधिमा ८ लाख ३४ हजार ३ सय २ जना रहेको थियो ।

मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु एक वर्षको अवधिमा नै ठूलो संख्यामा वृद्धि भएको देखिन्छ । गत वर्षको तुलनामा यो वर्ष ३२ लाख ६१ हजार ११८ जनाले मोबाइल बैकिङ्ग सेवा लिएका छन् ।

यसबाहेक शाखा रहित बैंकिङ्ग केन्द्रहरुको संख्या पनि गत वर्षको १ हजार २८५ को तुलनामा वृद्धि हुँदै १ हजार ५ सय ३० वटा पुगेको छ । शाखा रहित बैंकिङ्ग केन्द्रका प्रयोगकर्ताहरुको संख्या पनि गत वर्षको तुलनामा वृद्धि हुँदै यो वर्ष १ लाख ६८ हजार ३०७ जना पुगेका छन् ।

यसैगरि अध्ययन तथ्यांकअनुसार नेपालमा एटिएमहरुको संख्या ३ हजार ३ सय १६ पुगेको छ भने २०७६ सालमा डेबिट कार्डको संख्या ६७ लाख ८ हजार ५२१ तथा क्रेडिट कार्डको संख्या १ लाख २३ हजार १ सय ४६ पुगेको छ।

easy care

प्रकाशित: ३० आश्विन २०७६, बिहीबार