उच्चगतिको इन्टरनेट सेवा दिन स्पेसएक्सले ६० स्याटेलाइट अन्तरिक्षमा पुर्यायो

Technology Khabar १० जेष्ठ २०७६, शुक्रबार

उच्चगतिको इन्टरनेट सेवा दिन स्पेसएक्सले ६० स्याटेलाइट अन्तरिक्षमा पुर्यायो

काठमाडौं ।

काठमाडौं । प्राइभेट रकेट कम्पनी स्पेसएक्सले इन्टरनेट सेवाको लागि बनाईने स्टारलिंकको लागि पहिलो पटक ६० वटा स्याटेलाइट अन्तरिक्षमा पठाएको छ ।

हाईटेक उद्यमी एलन मस्कको कम्पनी स्पेस एक्सले विश्वभर इन्टरनेट सेवा दिने उद्धेश्यका साथ ६० वटा स्याटेलाइट लो अर्थ अर्बिटमा राख्ने गरि पठाएको हो । कम्पनीले बिहिबार फाल्कन ९ रकेटमार्फत इन्टरनेट सेवाको नेटवर्कको लागि स्याटेलाइट पठाएको हो ।

सो रकेटले पृथ्वीको तल्लो कक्षमा स्याटेलाइट रिलिज गरेर पुन पृथ्वीमा फर्कनेछ । कम्पनीले सो स्याटेलाइटहरु सहिस्थानमा सहिरुपमा प्रक्षेपण भयो वा भएन भनेर परीक्षण गरिरहेको छ, जुन स्याटेलाइटहरु प्रत्येकको तौल २२७ किलोग्राम रहेको छ । यो स्पेस एक्स रकेटले बोकेको सबैभन्दा भारी पेलोड हो ।

कम्पनीले विश्वभर रकम तिर्ने ग्राहकहरुका लागि भनेर उच्चगतिको इन्टरनेट सेवा अन्तरिक्षबाट प्रदान गर्ने योजना बनाएको छ जसको यो पहिलो चरण हो ।

यो इन्टरनेट सेवाको नेटवर्कबाट आउने आम्दानी कम्पनीको लागि नयाँ आम्दानीको स्रोत भएको एलन मस्कले बताए । कम्पनीले वार्षिकरुपमा ३ विलियन अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरेको छ ।

स्पेस एक्सले आगामी दिनमा चन्द्रमा र मंगल ग्रहमा पुग्ने योजना लिएको छ जसको लागि यो शुरुवात भएको जनाएको छ । कम्पनीले कम्तिमा १२ वटा रकेट लन्च गर्नेछ र हरेकमा ६० वटा पेलोड हुनेछन् ।

तर स्पेसमा स्याटेलाइट राखेर विश्वभर इन्टरनेट सेवा पुर्याउन चाहने स्पेस एक्समात्र एक्लो कम्पनी भने होईन् । यसअघि नै एयरबस एसईद्धारा सपोर्ट भएको वनवेब कम्पनीले गत फेब्रुअरीमा नै स्याटेलाइट लन्च गरिसकेको छ भने अर्को कम्पनीहरु लियोस्याट इन्टरप्राइजेज र टेलीस्याटले पनि तयारी गरिरहेका छन् ।

यस्तो प्रकारको प्रत्येक नेटवर्कमा साना स्याटेलाइटहरु प्रक्षेपण गरिनेछ जुन परम्परागत संचार स्याटेलाइट भन्दा फरक पृथ्वीको नजिकको कक्षमा रहन्छन् । यस्तो प्रविधिगत परिवर्तन लेजर टेक्नोलोजी र कम्यूटर चिप्समा आएको अत्याधुनिक विकासक्रमले भएको बताईएको छ ।

मस्कको स्पेसएक्सले यो वर्षको अन्त्यमा वा आगामी वर्ष ग्राहकहरुलाई उच्चगतिको इन्टरनेट सेवा दिने जानकारी दिएको छ । जसको लागि कम्पनीले प्रत्येक वर्ष २ हजार स्याटेलाइट लन्च गर्नेछ भने कक्षमा १२ हजार स्याटेलाइट राख्ने उद्धेश्य लिएको छ ।

कम्पनीले ग्राहकहरुलाई १ गीगाबाइट प्रति सेकेण्डको गतिमा इन्टरनेट दिने योजना लिएको छ ।

easy care

प्रकाशित: १० जेष्ठ २०७६, शुक्रबार