थप तीन लाख वेबसाइट बन्द गर्दैछौँ -सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटा

Technology Khabar १ पुष २०७५, आईतवार

थप तीन लाख वेबसाइट बन्द गर्दैछौँ -सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटा
फाइल

काठमाडौं ।

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौन सम्बन्धित थप तीन लाख वेबसाइट बन्द गरिने बताएका छन्।

आइतबार बेथानचोक गाउँपालिका–२, गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘पच्चीस लाख अश्लील वेबसाइट बन्द गर्‍यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेबसाइट बन्द गर्दैछौँ ।’

इन्टरनेटको पहुँचसँगै अश्लील वेबसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले समाजमा असल नागरिक स्थापित गराउन र सुरक्षित वातावरण निर्माण गर्न अश्लील वेबसाइट बन्द गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

‘देशभर टेलिफोन सेवा विस्तार गर्न सरकारले तीव्ररुपमा काम भइरहेको छ’, उनले भने, ‘एक वर्षभित्र १ सय ५० गाउँपालिकामा पूर्णरुपमा र ६९ गाउँपालिकामा आंशिक रुपमा इन्टरनेट सेवा पुर्‍याइनेछ ।’

टेलिकम कुनाकन्दरामा बसेका नेपाली नागरिकसम्म पुग्ने र यो कार्य सरकारको दायित्वसमेत भएको मन्त्री बाँस्कोटाले बताए ।

आउँदो वर्ष नेपाल टेलिकमको ‘चित्र’ भिन्न रुपमा प्रस्तुत हुने भएकाले टेलिकमको सेवा लिएर मनोरञ्जन लिन उनले आग्रह गरे । ‘टेलिकमको महसुल सस्तो छ, सकारात्मक वेभसाइट खोल्नुस्, ज्ञानवद्र्धक कुरा लिनुस् र भरपुर मनोरञ्जन लिनुस्’, उनले भने ।

नेपाल टेलिकमलाई ‘आमा’को संज्ञा दिँदै मन्त्री बाँस्कोटाले टेलिकमलाई एकछिन घुर्क्याए पनि त्यही चाहिने भइसकको बताए। उनले भने, ‘टेलिकम आमा जस्तै हो, कहिलेकाहीँ मर्मत वा अन्य केहीले सेवा ढिलो वा बन्द हुँदा घुर्क्याउने हो, घुर्क्याएपछि आमा चाहिएजस्तै हो टेलिकम ।’

नेपाल टेलिकमका कामु महाप्रबन्धक सूर्यभक्त पोखरेलले टेलिकमले स्मार्ट स्कूल बनाउने योजना बनाइरहेको बताए ।

टेलिकमको बनेपा शाखाअन्तर्गत बेथानचोकमा विस्तार गरिएको टेलिफोन एक्सचेन्ज काभ्रेपलाञ्चोकको १७ औँ हो ।

माध्यम

Global Bank
easy care

प्रकाशित: १ पुष २०७५, आईतवार