अर्थमन्त्रीले भने- डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवारले चुनौती

Technology Khabar ८ श्रावण २०७५, मंगलवार

अर्थमन्त्रीले भने- डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवारले चुनौती
फाइल

काठमाडौं ।

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवारले चुनौती बढाएको बताएका छन्।

सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१औँ बैठकको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री खतिवडाले डिजिटल पेमेन्ट संरचनाले जोखिम बढिरहेको बताएका हुन् ।

‘डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवार एवं सूचना आदानप्रदानबाट आउन सक्ने जोखिमलाई कम गर्न ध्यान दिनुपर्छ,’ उनले भने ।

उनले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा विशेष रुपमा सम्पत्ति शुद्धीकरणमा ध्यान दिएको जानकारी समेत दिए। उनले वित्तीय अपराध र आतंकवादलाई परास्त गर्न सम्पत्ति शुद्धीकरणमा जोड दिनुपर्ने बताए।

अर्थमन्त्री डा खतिवडाले गैरकानूनी रुपमा आर्जन हुनसक्ने सम्पत्तिलाई वैधता हुनबाट रोक्न नेपाल सरकार चनाखो रहेको चर्चा गर्दै दिगो र समुन्नत अर्थतन्त्रको विकासका लागि लागिपरेको जानकारी दिए ।

नेपालमा गत शनिबारदेखि शुरु भएको सो बैठकमा एपिजी सदस्य देश, पर्यवेक्षक देश, विश्वबैंकलगायत क्षेत्रका ५०० प्रतिनिधिको सहभागिता रहेको छ । बैठक शुक्रबारसम्म जारी रहनेछ ।

वित्तीय अपराध र आतंकवादमा प्रयोग हुन सक्ने अवैध वित्तलाई कसरी सामूहिक रोक्दै आर्थिक समृद्धि हासिललगायतका विषयमा बैठकमा मुख्यगरी छलफल हुने बताइएको छ ।

easy care

प्रकाशित: ८ श्रावण २०७५, मंगलवार

ताजा समाचार