कृषि विकास बैंकले ७ % वोनस शेयर दिने

Technology Khabar ३२ जेष्ठ २०७२, सोमबार

कृषि विकास बैंकले ७ % वोनस शेयर दिने

काठमाडौं ।

काठमाडौं, ३२ जेठ । कृषि विकास बैंक लि. ले आर्थिक बर्ष २०७०/७१ को मुनाफाबाट आफ्ना साधारण शेयरधनीहरुलाई ७ प्रतिशत वोनस शेयर तथा ८.७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यहि जेठ ३० गते वोडे, भक्तपुरमा सम्पन्न बैंकको आठौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७०/०७१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी उक्त वोनस शेयर र नगद लाभांश दिने निर्णय गरेको हो । त्यसैगरी नेपाल सरकारको अग्राधिकार शेयरमा समेत तोकिए वमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रमोद कुमार कार्कीले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७०/०७१ को वासलात, नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित  अनुसूचीहरु (पूरक समेत) र चालु आर्थिक वर्ष २०७१/०७२ को फागुन मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

देशका कुना काप्चामा समेत व्यापक सञ्जाल भएको तथा २ लाख १० हजार भन्दा बढी शेयरधनीहरु यो निर्णयबाट लाभान्वित भएका छन् ।

२०७१ फागुन मसान्त सम्ममा बैंकको आयकर पछिको नाफा रु. ८० करोड १३ लाख रहेको   छ । बैंकको आ.व. २०७०/७१ को आषाढ मसान्तमा रहेको निक्षेप रकममा ५.३० प्रतिशतले वृद्धि भई २०७१ फागुन मसान्तमा रु. ६९ अर्ब ३९ करोड पुगेको छ भने कर्जा तथा सापटमा ९.८७ प्रतिशतले  वृद्धि भई २०७१ फागुन मसान्तमा ६८ अर्ब ६६ करोड पुगेको छ । बैंकको देशैभरी २४१ कार्यालयहरुको कार्य संजाल रहेको र सो मध्ये १७३ कार्यालयहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको जनाएको छ ।

आर्थिक वर्ष २०७०/७१ को आषाढ मसान्तमा बैंकको निक्षेप रकम गत आर्थिक वर्षभन्दा २०.९६ प्रतिशतले वृद्घि भई रु. ६५ अर्व ९० करोड पुगेको र कुल कर्जा तथा सापटमा १३.७६ प्रतिशतले वृद्घि भई रु. ६२ अर्व ४७ करोड पुगेको छ । साथै आर्थिक वर्ष २०७०/७१ मा लगानी रकममा ४४.२६ प्रतिशतले वृद्घि भई रु. १३ अर्व ३८ करोड कायम भएको छ । बैंकको आर्थिक वर्ष २०६९/७० मा ५.८५ प्रतिशत कायम रहेको निष्कृय कर्जाको अनुपातमा सुधार गरी आर्थिक वर्ष २०७०/७१ मा ५.४६ प्रतिशत र जोखिम भारित सम्पत्तिमा कुल पूँजी कोष अनुपात १५.०९ प्रतिशत कायम राख्न सफल भएको बैंकले जनाएको छ ।

यसैबिच आठौं वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको तर्फबाट चार जना संचालकहरु क्रमशः रमेश कुमार महत, मनोज बस्नेत, गोविन्द प्रसाद भट्टराई र घनश्याम अवस्थी चार वर्षे कार्यकालका लागि चयन भएका छन् ।

easy care

प्रकाशित: ३२ जेष्ठ २०७२, सोमबार