जिओमी ब्राण्डले नेपाली मोबाइल प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ

Technology Khabar १० कार्तिक २०७१, सोमबार

जिओमी ब्राण्डले नेपाली मोबाइल प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ

काठमाडौं ।

विश्व बजारमा निकै चर्चा कमाएको जिओमी (Xiaomi) ब्राण्ड नेपाल भित्रने तरखरमा छ । ‘चीनियाँ एप्पल’ पनि भनेर चिनिने जिओमीलाई नेपालमा भने मोबिल्याण्ड इलेक्ट्रोनिक प्रालिले आधिकारीक बितरकको रुपमा ल्याउन लागेको हो । छिमेकी मुलुक भारतमा पनि ‘हट केक’ भएको र इकमर्श साइट फ्लिपकार्टबाट मात्रै बिक्री गर्दा पनि बिक्री रेकर्ड कायम गरिरहेको छ भने नेपालमा पनि त्यसको बारेमा निकै सोधखोज हुँदै आएको छ । नेपालमा करिब १०० करोड रुपैंयाको  वार्षिक माेबाइल बिक्री लक्ष्य राखेको कम्पनीले अनलाईनमार्फत पनि बिक्री गर्ने तयारी गरेको छ ।

हंगकंगको जेएमजी कम्पनीको सहकार्यमा जिओमीका करिब ६ वटा मोडल नेपालमा ल्याउन लागेको मोबिल्याण्ड ग्रुपका प्रमुख कार्यकारी अधिकृत (ग्रुप सिईओ) सुवर्ण महर्जनसँग गरेको कुराकानीको अंश ।

तपाईँको विचारमा अहिले नेपाली मोबाइलको बजार कस्तो छ ? 

अहिले नेपालमा मोबाईलको बजार निकै राम्रो छ । पहिलेको तुलनामा मोबाइलको बजार वृद्धि भइरहेको छ । अहिले अधिकांश व्यक्तिहरु नयाँ नयाँ मोबाइल किन्न रुचाउने देखिएको छ भने बजार पनि त्यहि अनुपातमा वृद्धि हुँदैछ ।

बजारमा कस्ता मोबाइलहरु बिक्री हुने गरेका छन् ?

नेपाली क्रेताहरुले नयाँ स्मार्टफोनहरु रुचाउने गरेका छन् । उनिहरुले विभिन्न स्मार्टफोनहरु खरिद गर्नुका साथै फरक र नयाँ प्रविधिका मोबाइलहरु खरिद गर्ने गरेको देखिएको छ । यसको अर्थ ग्राहकहरु हरेक पटक नयाँ प्रविधिसँग अपडेट हुन चाहिरहेका छन् ।

अहिले बजारमा विभिन्न ब्राण्डका मोबाइलहरु भित्र्याउने लहर चलेको छ तर के ती सबै बिक्री हुन्छन् ?

बजार निकै विस्तार हुँदै गएको हुँदा नयाँ नयाँ मोबाइल ब्राण्डहरु आउनु स्वभाविक हो तर अब बजारमा क्रेताहरुले नयाँ प्रविधि सहितका र नयाँ सफ्टवेयरसहितका मोबाइल खोजिरहेको हामीले अनुभव गरेका छौं । अहिले बजारमा अधिकांश एन्ड्रोइड सिष्टमका मोबाइल फोनहरु मात्र पाइन्छ तर क्रेताहरुले भने विश्व बजारमा नाम चलेका र फरक । फरक अपरेटिङ सिष्टमसहित चलाउन मिल्ने मोबाईल फोन खोजेको पाइन्छ । नेपालमा अहिले पछिल्लो पटक भित्रीएका मोबाइलहरुले ब्राण्ड टेष्ट मात्र गरिरहेको हाम्रो बुझाईछ ।

तपाईँहरुले पनि नयाँ ब्राण्ड भित्र्याउँदै हुनुहुन्छ । त्यो कुन ब्राण्ड हो ?

हामीले नेपालमा भित्र्याउन लागेको ब्राण्ड भनेको जिओमी (Xiaomi) ब्राण्ड हो, जसलाई कसैले श्याओमी त कसैले सिओमी पनि भन्नछन् । यसलाई एप्पल अफ चाइना भनेर विश्व बजारमा चिनिन्छ । यो फोन चीनमा सबैतिर उपलब्ध छ र यो फोनले एप्पलजस्तै अपरेटि९ गर्दछ । अहिले यो एन्ड्रोइड अपरेटि९ सिष्टममा चल्दछ । यो अहिलेको हट केक स्मार्टफोन हो ।

चीनियाँ ब्राण्डलाई नेपालमा अझै विश्वास गर्न सकेको छैन नी होइन र ?

अहिले धेरैजसो मोबाईल ब्राण्ड र उत्पादन चीनमा नै हुने गर्दछन् । चीनमा उत्पादित सबै ब्राण्ड गुणस्तरहीन हुन्छन भन्ने नेपालीहरुको धारणा छ तर त्यसो होइन् । अहिले विश्वमा उत्पादन हुने अधिकांश प्रविधियुक्त र इलेक्ट्रोनिक्स सामाग्रीहरु चीनमा नै उत्पादन हुने गर्दछन् । उदारहणको लागि आइफोन पनि चीनमा नै उत्पादन हुन्छ । तर त्यसको गुणस्तर कम्पनीले निर्धारण गरे बमोजिमको मात्रै हुन्छ, त्यसैले त्यो स्तरीय हुन्छ । त्यस्तै किसिमको उच्च गुणस्तरका स्मार्टफोन मात्र जिओमीले उत्पादन गर्दछ । यो फोन ए ग्रेडको चीनियाँ ब्राण्ड हो । त्यसैले यो फोनमा समस्या आउँदैन् ।

केहि समय अघि त भारतमा ‘फ्लिकार्ट’ इकर्मश साइटबाट जिओमीका बिभिन्न ब्राण्डका मोबाइल बिक्री गर्दा ग्राहकले खरिद गर्न लाइनमा बस्नु परेको थियो त्यसबाट पनि यो ब्राण्डको विश्वसनियता बुझ्न सकिन्छ ।

यो फोनको विशेषता के छ ?

यो फोन गुणस्तरीय भएको र विश्वभर यसको बजार विस्तार हुँदै गएको छ । जिओमी ब्राण्डको आफ्नै एमआई क्लाउड रहेको छ भने यसको आफ्नै सर्भर पनि रहेको छ । यसको सर्भर अपडेट पनि भइरहेको हुन्छ । जसले गर्दा मोबाइल प्रयोगकर्ताहरुको डाटा राख्न सुरक्षित हुन्छ । यहि कारणले अन्य चीनियाँ ब्राण्ड भन्दा जिओमी मोबाइलको बजार नेपालमा राम्रो भनेर भन्न सक्दछौं ।

त्यसैगरी हामीले जिओमीका विभिन्न ६ मोडलका स्मार्टफोन भित्र्याउँदैछौं । त्यसमा एमआई थ्री, एमआई वन एस जसलाई रेडमी वन एस पनि भनिन्छ, ट्याबलेट, नोट एमआई, एमआई फोरलगायतका मोडल भित्र्याउँदैछौं ।

चिनीयाँ ब्राण्डका मोबाइलहरु नेपालमा पछिल्लो समयमा निकै भित्रीँदैछ, बजारमा प्रतिस्पर्धा त निकै हुन्छ होला ?

यो सहि हो अब बजारमा निकै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । नेपाली बजारमा पनि चीनियाँ ब्राण्डका स्मार्टफोन निकै छन् ती सबैसँग हामीले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यसको लागि कम्पनीको सहकार्यमा हामी बजार प्रतिस्पर्धा रणनीति तयार गर्नेछौं । अर्कोतर्फ यो उच्चस्तरको ब्राण्डको स्मार्टफोन भएको हुँदा हामीलाई प्रतिस्पर्धा गर्न अरुभन्दा केहि सहज हुने अनुमान छ । हामीले एक तर्फ ब्राण्ड अवेयर गराउने र दोस्रो तर्फबाट बजार मुल्यमा प्रतिस्पर्धा गर्नेछौं ।

जिओमीको लागि बजार बिस्तार योजना कस्तो छ त ?

हामीले नेपालभर वितरक नियुक्त गरेका छौं । र अरुपनि गर्दैछौं । उनिहरुलाई निश्चित बिक्री लक्ष्य दिएका छौं । भने मोबाइल प्रयोगकर्ताहरुलाई एक वर्षको सभिस सुविधा र सर्भिस सेन्टरको व्यवस्था गर्दैछौं । त्यसैगरी हामी आफैंले टु लेभलसम्मको सेवा दिने गरी व्यवस्था गर्दैछौं, जसले गर्दा मोबाइल बनाउन काठमाडौंसम्म आउनु नपरोस् ।
हाम्रो बिक्री लक्ष्य भनेको पहिलो वर्ष १ सय करोड रुपैंयाको मोबाइल बिक्री गर्नु हो । तर त्यो भन्दा बढि हामीले बिक्री गर्ने अनुमान गरेका छौं । यो फोनले नेपालमा पनि बिक्री रेकर्ड राख्ने आशा छ ।

तपाईहरुको लक्षित ग्राहक को हो ?

हाम्रो स्मार्टफोनको लक्षित ग्राहक भनेको मध्यमस्तरका र उच्चमध्यमस्तरका ग्राहकहरु हुन जसले लगभग ३० हजारको हाराहारीमा खर्च गर्न सकोस् । र त्यस्ता मोबाईल ग्राहकहरु जो ६ । ६ महिनामा नयाँ फोन खरिद गर्दछन् ।

तपाईहरुले जिओमीको लागि बुकिङ पनि खोल्नु भएको छ कस्तो छ माग ?

हामीले अनलाईन माध्यमबाट बुकिङ खोलेको केहि दिन मात्र भएको छ तर निकै सोधपुछ आईरहेको छ भने निकै मागहरु पनि आएका छन् । जस्तो रेडमी वन एसको लागि मात्रै १५०० भन्दा बढि बुकिङ भएको छ भने एमआई नोट र एमआई थ्रीको माग पनि करिब १ हजार पिस पुगेको छ ।

अझ हामीले प्रत्यक्षरुपमा बितरकहरुबाट आएको माग र बुकिङ पनि यहि हाराहारीमा संकलन गरिरहेका छौं । र यो बढ्दो क्रममा छ ।

फोटोः महर्जनको फेसबुकबाट

easy care

प्रकाशित: १० कार्तिक २०७१, सोमबार

ताजा समाचार