Technology Khabar २९ श्रावण २०७१, बिहीबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालभर करिब २ करोड नेपालीको हातमा मोबाइल फोन रहेको छ । स्थानीय बजारमा मासिक साढे तीन लाख सेट मोबाइल बिक्री हुने गरेको तथ्यांक छ भने वार्षिक कारोबार १० अर्ब रुपैयाँभन्दा बढी छ । त्यहि विषयलाई ध्यानमा राखेर काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा न्यू मोबाइल मार्केट संचालन हुन लागेको छ । यसै सन्दर्भ पारेर पारामाउन्ट मोबाइलका प्रबन्ध निर्देशक पुरुषोत्तम बस्नेतसँग गरिएको कुराकानीः
अहिले नेपालमा मोबाइल व्यापारको अवस्था कस्तो छ ?
केही समय पहिले औंलामा गन्ने ब्राण्डमात्र भएकोमा अहिले विभिन्न ब्राण्ड र मोडलका मोबाइल फोनहरू बिक्री हुने गरेका छन् । साथै, नेपाली उपभोक्ता पनि मोबाइलको गुणस्तर, ब्राण्ड र प्रयोगको बारेमा अधिक जानकार र सचेत भएको पाइएको छ । बजारमा प्रतिस्पर्धा बढेको छ भने अधिक ब्राण्डहरू बजारमा आउँदा उपभोक्ताहरू अलमलमा पर्ने अवस्था पनि रहेको छ । मोबाइलको बजार वार्षिकरुपमा १० देखि १५ प्रतिशतले विस्तार भइरहेको छ ।
अहिले कस्ता प्रकारका मोबाइल सेटहरू उपभोक्ताको रोजाईमा पर्ने गरेका छन् ?
बजारमा बजेट, फिचर र स्मार्ट गरी मुख्यतया तीनथरिका मोबाइलहरू खरिद–बिक्री हुने गरेका छन् । काठमाडौंलगायत सहरी क्षेत्रमा स्मार्टफोनको बिक्री अधिक छ भने ग्रामीण क्षेत्र र भित्री इलाकामा बजेट र फिचर मोेबाइल सेटहरूको खरिद–बिक्री धेरै रहेको छ । उपभोक्ताले सबै प्रविधि र सुविधायुक्त मोबाइल फोन बढी खोज्ने गरेका छन् । धेरैजसो एन्ड्रोईडको अधिक फिचरसहितको ठूलो स्क्रिन, अधिक एप्सहरू चलाउन सकिने किसिमका मोबाइलहरूको बजारमा माग धेरै छ । उपभोक्ताले एक वा एकभन्दा अधिक मोबाइल सेट प्रयोग गर्ने गरेका कारणले मोबाइलको बजार विस्तार हुन मद्दत पुगेको हो ।
‘ग्रे मार्केटका’ कारण बजारमा कस्तो असर परेको छ ?
अहिले बजारमा ग्रे मोबाइल नआएको भन्न त मिल्दैन, अझै पनि छिटपुटरुपमा भन्सार छलीका सामान आउने गरेका छन् । तर बजारलाई नै उतार–चढाव गराउने गरी अवैधरुपमा आयात गरेर मोबाइल व्यवसाय गर्ने व्यवसायी भने बजारमा छैनन् । सरकारले भन्सार तिरेर मोबाइल आयात गर्न दिएको सुविधाका कारण मोबाइलको सहज आयात भइरहेको छ तर विदेशबाट आउँदा एक वा दुईवटा मोबाइल बोकेर आउने र स्थानीय बजारमा बिक्री गर्ने गरेका छन् । मोबाइल व्यवसायीहरूले भ्याटविनाको कारोबार गर्न नरुचाएको र ग्रे मोबाइल बिक्री गर्दा आफैंलाई असर पार्ने हुँदा त्यस्तो निकै कम छ ।
मोबाइल आयातमा लगाएको अनिवार्य टाइप एप्रुभलको नियमले कस्तो असर पारेको छ ?
मोबाइल आयातमा टाइप एप्रुभलको नियम लगाउनु ठिक हो तर यसले मोनोपोली मार्केटलाई प्राथमिकता दिएको हो कि जस्तो लागेको छ । अहिले साना व्यापारीले टाइप एप्रुभल नै नपाउने अवस्था छ । नयाँ नियमका कारण साना र मझौला व्यवसायीले मोबाइल आयात गर्न कठिन भएको छ । जसले बजारमा सीमित ठूला आयातकर्ताको एकाधिकार कायम भएको छ । टाइप एप्रुभलको लागि मोबाइल उत्पादन गर्ने कम्पनीको आधिकारीक प्रमाणपत्र लिएको कागतपत्र पेश गर्नुपर्ने नियम लागू गरेको छ । जसका कारण साना व्यवसायीले उत्पादकको आधिकारीक पत्र पेश गर्न नसक्ने र उत्पादकले पनि एक वा दुईलाई मात्र आधिकारीक डिलरसीप दिने गरेका कारण सबैले त्यस्तो प्रमाण पेश गर्न सक्दैन् । टाइप एप्रुभलका कारण उपभोक्ताहरूले पनि प्रतिस्पर्धी मूल्यमा मोबाइल खरिद गर्न नपाउने अवस्था छ । अहिलेको २१० पृष्ठको कागजात पेश गर्नुपर्ने नियमलाई सरलीकरण गर्नुपर्छ । अहिले आयात गरिरहेका कम्पनीले पनि नक्कली विवरण पेश गरिरहेका छन् जसको कुनै अनुगमन र छानबिन नै छैन ।
प्रकाशित: २९ श्रावण २०७१, बिहीबार