ओलाले सन् २०२३ मा बेच्यो साढे २ लाख इलेक्ट्रिक स्कुटर, घाटा अझै बढ्दोक्रममा

Technology Khabar १२ पुष २०८०, बिहीबार

ओलाले सन् २०२३ मा बेच्यो साढे २ लाख इलेक्ट्रिक स्कुटर, घाटा अझै बढ्दोक्रममा

काठमाडौं ।

ओला इलेक्ट्रिक हाल भारतको नम्बर एक इलेक्ट्रिक दुई पांग्रे निर्माता हो। २०२३ सकिन केही दिन मात्र बाँकी छ र कम्पनीले यस वर्षमा साढे २ लाख इलेक्ट्रिक स्कुटर बिक्रीको तथ्यांक पार गरिसकेको छ।

यसका बावजूत ओला इलेक्ट्रिक मोबिलिटी लिमिटेडले आर्थिक वर्ष २०२३ मा १ हजार ४७२ करोड भारुको खुद घाटा व्यहोरेको छ।

यस्तो हुनुको पछाडि कम्पनीले उच्च सञ्चालन खर्च र मोडल रेञ्ज विस्तारलाई बताएको छ। ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टसको रिपोर्ट अनुसार कम्पनीले आर्थिक वर्ष २०२२ मा ७८४.१५ करोड भारु खुद घाटा व्यहोरेको थियो। चालु वर्ष २०२३ मा कम्पनीको खुद घाटा १ हजार ४७२.०८ करोड भारु रहेको छ।

कम्पनीको सञ्चालन खर्च आर्थिक वर्ष २०२२ मा ३७३.४२ करोड भारु थियो भने चालु आवमा बढेर २ हजार ६३०.९३ करोड भारु पुगेको छ। कम्पनीले २०२१ मा ओला इलेक्ट्रिक एस१ प्रोको वितरण सुरु गरेको थियो।

बेंगलुरु स्थित ईभी स्टार्टअप कम्पनीले आर्थिक वर्ष २०२३ मा एक लाख ५६ हजार २५१ इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ। केन्द्र सरकारको फेम दुई सब्सिडीका कारण अधिक बिक्री हासिल गर्न सफल भएको कम्पनीले बताएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

कम्पनीले पोर्टफोलियो विस्तार गर्न लगानी बढाइरहेकाले सञ्चालन घाटा बढेको बताएको छ। २०२३ मा कम्पनीको खर्च ८४२.६१ करोड भारु थियो।

ओला एक वर्षमा साढे २ लाख यूनिट बिक्री पुरा गर्ने भारतको पहिलो इलेक्ट्रिक दुई पांग्रे निर्माता बनेको छ। ओलाले २०२३ जनवरी १ देखि डिसेम्बर २१ सम्म २ लाख ५२ हजार ६४७ यूनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ। चालु वर्षमा भारतको इलेक्ट्रिक दुई पांग्रे सेगमेन्टमा ओलाको हिस्सा ३०.५० प्रतिशत छ।

दोस्रो स्थानमा टीभीएस र तेस्रो स्थानमा एथर इनर्जी छ। २०२३ को अन्तिम हप्तासम्म भारतमा ८ लाख २८ हजार ५३७ यूनिट इलेक्ट्रिक दुई पांग्रे बिक्री भएको छ। यसमा करिब ३१ प्रतिशत योगदान ओला इलेक्ट्रिकको छ।

भारतीय सवारी बिक्रीको तथ्यांक अनुसार ओला इलेक्ट्रिकले चालु वर्षमा गत वर्षको तुलनामा १३१ प्रतिशत वृद्धि हासिल गरेको छ। गत वर्ष २०२२ मा ओलाले १ लाख ९ हजार ३९५ यूनिट इलेक्ट्रिक स्कुटर बेचेको थियो।

२०२३ मार्चमा पहिलो पटक ओलाले मासिक बिक्री २० हजार यूनिट पार गरेको थियो। मार्चमा कम्पनीले २१ हजार ४३४ यूनिट ईभी बिक्री गरेको थियो।

 

easy care

प्रकाशित: १२ पुष २०८०, बिहीबार