राष्ट्रिय परिचयपत्र वितरण सुरु

Technology Khabar २५ आश्विन २०८०, बिहीबार

राष्ट्रिय परिचयपत्र वितरण सुरु

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाँफिकोट गाउँपालिका निवासी विरबहादुर केसीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी औपचारिक रूपमा परिचयपत्र वितरण कार्य शुरु गरे।

रुकुमपश्चिममा २०७७ साल कातिक महिनादेखि राष्ट्रिय परिचयपत्र प्रयोजनका लागि विवरण संकलन सुरु गरिएको थियो। सोही विवरणका आधारमा तयार भएको डिजिटल परिचयपत्र आइतबारबाट वितरण गर्न थालिएको हो।

सेवाग्राहीलाई परिचयपत्र वितरण गर्दै प्रमुख जिल्ला अधिकारी पन्तले राष्ट्रिय परिचयपत्रकै आधारमा भोलिका दिनमा सेवाग्राहीको काम सहज हुने बताए। प्रमुख जिल्ला अधिकारी पन्तले भने, “जिल्लामा राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएजस्तै राज्यलाई अब मालपोत, बैङ्किङ्ग कारोबार, यातायात लगायतका कार्यमा विस्तार जोड्दै जाने नीति लिएको छ।”

परिचयपत्रमा व्यक्तिगत विवरणसहित जैविक विवरणअन्तर्गतका औंठाछाप, आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ।

राहदानी बनाउन आउनेले अनिवार्यरूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम छ। जिल्लाका ७३ ओटै वडामा शिविरमा १५ हजार विवरण संकलन गरिएको थियो। जिल्ला प्रशासन कार्यालयमा १८ हजार जनाको विवरण संकलन भएको थियो।

पहिलो चरणमा कार्यालयबाट संकलन गरिएकामध्ये १० हजार चार सय जनाको परिचयपत्र आइपुगेको जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखाले जनाएको छ।

परिचयपत्र जिल्लामा आइपुगेपछि कार्यालयले व्यक्तिलाई राष्ट्रिय परिचय पत्रको फोटो खिचाउँदाका बेला उपलब्ध गराएको सम्पर्क नम्बरमा म्यासेज पठाउने गरेको छ।

म्यासेज प्राप्त भएकाले आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रको फोटो सहितको विवरण कागज लिई आउनुपर्ने प्रशासन कार्यालयले जनाएको छ। गोरखापत्रबाट

easy care

प्रकाशित: २५ आश्विन २०८०, बिहीबार