अनलाइन संचारमाध्यम बन्द गराउने निर्णय सम्बन्धमा अनलाइन पत्रकार संघको ध्यानाकर्षण

Technology Khabar २६ बैशाख २०७९, सोमबार

अनलाइन संचारमाध्यम बन्द गराउने निर्णय सम्बन्धमा अनलाइन पत्रकार संघको ध्यानाकर्षण

काठमाडौं ।

नेपाल प्रेस काउन्सिलको निर्णयले हालै विभिन्न २३ ओटा अनलाइन संचारमाध्यम नेपालभित्र प्रकाशन र प्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

स्थानिय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गते देखि निर्वाचन आचारसंहिता लागु भएको र  ती अनलाइन सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको देखिएको भन्दै ती संचारमाध्यमलाई नेपालभर प्रकाशन र प्रशारण हुन नसक्ने गरी बन्द गराउन पत्राचार गरिएको प्रेस काउन्सिलको निर्णय छ ।

काउन्सिलको सो  निर्णयले अनलाइन पत्रकार संघ आश्चर्यचकित भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

“यो निर्णय गर्नुअघि नेपालको संविधान र त्यसले व्यवस्था गरेको विषय स्मरण गरिएको भएपनि यस्तो निर्णय गर्नु कति संबैधानिक हुन्थ्यो ?, भन्ने अनलाइन पत्रकार संघलाई लागेको छ ।” विज्ञप्तिमा भनिएको छ।

संघले नेपालको संविधानको प्रस्तावनामा ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न’ भन्ने व्यवस्था रहेको र प्रस्तावनामा रहेको पूर्ण प्रेस स्वतन्त्रता भन्ने व्यवस्थाले संचारमाध्यम बन्द गर्ने गराउने अधिकार प्रेस काउन्सिल वा अन्य कुनै पनि निकायलाई नदिएको ठहर गरेको छ।

प्रेस काउन्सिलले निर्णय नै गरेर अनलाइन संचार माध्यम बन्द गर्नु गराउनु आफैमा असंवैधानिक कार्य भएको भन्दै कुनै संचारमाध्यमले प्रकाशन र प्रशारण गरेको सामग्रीले पत्रकार आचारसंहिता उल्लघन भएमा सो अनुसार कारबाही गर्ने गराउने तथा विद्यमान प्रचलित अन्य कुनै पनि कानुनको वर्खिलाप हुने सामग्री प्रकाशन र प्रशारण गरेमा सोही कानुनको व्यवस्था अनुसार कसुरदार ठहर गरी कानुनी कारबाही गर्न सकिने व्यवस्था रहेको स्मरण गराएको छ ।

‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै मौका छोपेर पत्रकारितामाथि गरिएको यो प्रकारको प्रहार अनलाइन पत्रकार संघलाई सह्य नहुने भन्दै कुनै पनि बहानामा अनलाइन संचार माध्यम बन्द गर्ने गराउने कार्यको अनलाइन पत्रकार संघ घोर निन्दा र भत्सना गरेको छ।

अनलाइन पत्रकार संघले यस्तो गैरसंवैधानिक र गैरकानुनी कार्य तत्काल रोक्न सम्बन्धित सरोकारवालालाई आग्रह समेत गरेको छ।

easy care

प्रकाशित: २६ बैशाख २०७९, सोमबार

ताजा समाचार