के तपाईँ पनि क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ? त्यसो भए यी कुराहरुमा ध्यान दिनुहोस्

Technology Khabar २५ चैत्र २०७८, शुक्रबार

के तपाईँ पनि क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ? त्यसो भए यी कुराहरुमा ध्यान दिनुहोस्

काठमाडौं ।

हिजोआज मानिसहरु क्यास पेमेन्टको सट्टा क्रेडिट कार्ड, डेबिट कार्ड, अनलाइन भुक्तानी, इन्टरनेट बैंकिङलगायतका तरिकाहरु अपनाउन थालेका छन्।

पहिले मानिसहरु पैसा कमाएपछि खर्च गर्थे भने हिजो आज पहिले खर्च गर्छन् र त्यसपछि कमाएर तिर्छन्। शुरुमा खर्च गर्नका लागि उनीहरुलाई विभिन्न बैंकले सहयोग गर्छन्।

क्रेडिट कार्ड एक प्रकारको ऋण हो जुन बैंक तथा वित्तीय संस्थाले उपभोक्तालाई प्रदान गर्ने गर्दछ।

क्रेडिट कार्डका थुप्रै फाइदा छन्। नगद बोक्नु नपर्ने, शुरुमा सीमित रकम खर्च गरेर केही समयपछि तिर्न सकिने तथा भौतिक मुद्राजस्तो चोरी हुने समस्या पनि कम हुने गर्दछ। यस्तै केही कम्पनीहरुले त क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा राम्रै छुट पनि दिने गर्दछन्।

तर यसको प्रयोग गर्दा लापरवाही भने गर्न मिल्दैन। यसो गरेमा फाइदा भन्दा बेफाइदा बढी हुन सक्छ।

के के कुरामा ध्यान दिने?

क्रेडिट लिमिट

क्रेडिट कार्ड प्रयोग गर्दा कैयौंपटक मानिसहरुले क्रेडिट लिमिटमा ध्यान नपुर्याउने एउटै गल्ती दोहोर्याउने गर्दछन्। शपिङ गर्दा महिनाको अन्त्यमा अहिले खर्च गरेको सबै रकम बैंकलाई तिर्नुपर्छ भन्ने कुराको हेक्का राख्नुपर्छ।

यसैले क्रेडिट लिमिटलाई ध्यानमा राखेर क्रेडिट कार्डमार्फत् किनमेल गर्नुपर्ने हुन्छ। यसो नगरेमा पछि बैंकको ऋणमा डुब्नसक्ने सम्भावना रहन्छ।

क्रेडिट कार्डमार्फत् रकमको कारोबार नगर्ने

क्रेडिट कार्डमार्फत् रकमको निकाल्ने सुविधा उपलब्ध हुन्छ। तर यो सुविधा प्रयोग गरेमा ब्याज धेरै बढ्न जान्छ।

यस्तो कारोबारमा बैंकहरुले राम्रै ब्याज लगाउने गर्छ्न्। यसो हुनाले अति आवश्यक नपरेमा क्रेडिट कार्डमार्फत् रकम झिक्ने गर्नुहुँदैन।

ब्यालेन्स ट्रान्सफर गर्दा विचार पुर्याउने

ग्राहकहरुको सुविधाका लागि क्रेडिट कार्ड कम्पनीहरुले ब्यालेन्स ट्रान्सफर सुविधा पनि उपलब्ध गराएका हुन्छन्। यो सुविधा प्रयोग गरेर मानिसहरुले आफ्ना पुराना क्रेडिट कार्डको बिल भुक्तानी गर्न सक्छन्।

तर यसो गर्दा क्रेडिट कार्डको ऋणको जालोमा अझ फस्न सक्ने सम्भावना बढी रहन्छ। यसै हिसाबले यो सुविधा प्रयोग गर्दा तत्कालको सहजतालाई भन्दा पनि दीर्घकालीन व्यवहारिकतालाई मध्यनजर गर्नु जरुरी हुन्छ।

easy care

प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार