दूरसञ्चार सेवा प्रदायकका गाडी मन्त्रालयका सचिव वा विभागीय प्रमुखको पासले मात्र चल्न पाउने

Technology Khabar १९ जेष्ठ २०७८, बुधबार

दूरसञ्चार सेवा प्रदायकका गाडी मन्त्रालयका सचिव वा विभागीय प्रमुखको पासले मात्र चल्न पाउने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

हालै सरकारले राजपत्रमा प्रकाशित गरेर आवश्यक सेवामा राखेको दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकका गाडीहरु निषेधाज्ञाको अवधिभर सरकारी पासको आधारमा मात्र चल्न पाउने भएका छन् ।

निषेधाज्ञामा यसअघि सम्बन्धित सेवा प्रदायक कम्पनीको परिचयपत्रको आधारमा निश्चित समय तोकेर सञ्चालन भईरहेका गाडीहरुलाई अहिले स्थानीय प्रशासनले यसअघिको भन्दा थप कडाई गरेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले हालको निषेधाज्ञालाई जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो।

निषेधाज्ञाको बुँदा नम्बर ५ अन्तरगतको उपबुँदा (झ) मा इन्टरनेट सेवा तथा दूरसञ्चार सेवा प्रदायकका सवारी साधनहरुको बारेमा उल्लेख गरिएको छ । जसअनुसार अब सम्बन्धित मन्त्रालयको सचिव वा विभागिय प्रमुखले जारी गरेको पत्रको आधारमा मात्र आवतजावत गर्न पाईने भएको छ ।

यसअघि वैशाख १६ देखि जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ देखि आदेशलाई थप कडा पारिएको थियो । जसमा प्रशासनले सरकारी कार्यालय र सार्वजनिक स‌ंस्थान जस्तै इन्टरनेट सेवा प्रदायक संस्था र एनसेलको नामै तोकेर कार्यालयमा आवतजावतका लागि निश्चित समयमा मात्र सवारी साधन सञ्चालन गर्न दिएको थियो जसमा कम्पनी वा सेवा प्रदायक कम्पनीको परिचयपत्र आवश्यक हुने गरेको थियो ।

आदेशअनुसार त्यस्ता कार्यालयका सवारी साधनहरु बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म तथा बेलुका ५ बजेदेखि ६ बजेसम्मको लागि आवतजावतका लागि मात्र प्रयोग गर्ने गरि व्यवस्था मिलाएको थियो ।

यो पनि हेर्नुस्-

इन्टरनेट सेवा अब आवश्यक सेवामा समावेश, हडताल गर्न निषेध

अब भने त्यसमा झनै कडाई गर्दै सम्बन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले जारी गरेको पास तथा परिचय पत्रका आधारमा मात्र सेवा प्रदायकहरुको सवारी साधन आवतजावत गर्न पाउने भएका हुन् ।

‘सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, अन्य सम्पूर्ण वित्तीय संस्थाहरु, इन्टरनेट सेवा प्रदायक संस्था र दूरसंचार प्रदाय संस्थाका सवारी साधनको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले जारी गरेको पास तथा परिचय पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने,’ निषेधाज्ञाको आदेशमा भनिएको छ ।

तर दूरसञ्चार तथा इन्टरनेट सेवाको मर्मतका लागि भने यसअघिकै जस्तै सहजरुपमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी निर्वाध संचालन गर्न पाउने व्यवस्था गरिएको छ ।

यसअतिरिक्त अन्य आदेशको नयाँ व्यवस्थाअनुसार अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइनेछ । फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्।

हेर्नुस नयाँ व्यवस्था-

easy care

प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार