यस्तो छ सञ्‍चार तथा सूचना प्रविधि विकास तर्फको बिस्तृत बजेट, हेर्नुहोस् पुरा बिबरण

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

यस्तो छ सञ्‍चार तथा सूचना प्रविधि विकास तर्फको बिस्तृत बजेट, हेर्नुहोस् पुरा बिबरण
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट आज सार्वजनिक गरेका छन् । उनले आगामी वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट कार्यक्रम प्रस्तुत गरेका छन् ।

सरकाले चालु शीर्षकमा ६ खर्ब ७८ अर्ब ४१ करोड विनियोजन गरेको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो । यस्तै वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ भने विकासतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड छ । यो कुल विनियोजनको २२.७ प्रतिशत हो।

सरकारले सूचना तथा सञ्चार प्रविधिकोविकासका लागि छुट्टै शिर्षकमा बजेट बिनियोजन गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु. ७ अर्ब ७४ करोड विनियोजन गरेको घोषणा गरे ।

हेर्नुहोस सो शिर्षकअन्तरगतको अर्थमन्त्री बिष्णु पौडेलले पढेको बजेट वक्तव्य जस्ताको त्यस्तैः

सञ्‍चार तथा सूचना प्रविधि विकास

  1. नागरिकको संविधान प्रदत्त सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र प्रति वर्तमान सरकार प्रतिवद्ध छ। सञ्‍चार गृह, सञ्‍चारकर्मी र समग्र प्रेस जगतको व्यावसायिकता विकास गर्ने नीति अवलम्बन गरिनेछ।
  2. सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्न डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरिनेछ। डिजिटल प्रविधिको उपयोग गरी सार्वजनिक सेवामा आमनागरिकको सरल र सहज पहुँच विस्तार गरिनेछ। ज्ञान र सूचनामा आधारित डिजिटल अर्थतन्त्रको विकास गरिनेछ।
  3. श्रमजिवी पत्रकारको लागि रु. ७ लाखसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइनेछ। आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देश भित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छु। सञ्‍चारकर्मीको पेशागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आम सञ्‍चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ। नेपाल पत्रकार महासंघको निर्माणाधिन भवन सम्पन्‍न गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
  4. नेपालको प्रेस र पत्रकारिताको इतिहासलाई जीवन्त राख्‍न सञ्‍चार ग्राम परिसरमा प्रेस संग्रहालय स्थापना गरिनेछ। कोभिड- १९ बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्‍चारगृहलाई पुनरकर्जा तथा व्यावसायिक निरन्तरता कर्जा सुविधा दिइनेछ।
  5. नेपाल सरकारले सञ्‍चार प्रतिष्ठानलाई लोककल्याणकारी विज्ञापन वापत उपलव्ध गराउने रकमको १० प्रतिशत पत्रकार कल्याणकारी कोषमा जम्मा गर्ने व्यवस्थालाई शीघ्र कार्यान्वयन गरिनेछ। निजी क्षेत्रबाट समेत विज्ञापन वापत प्राप्‍त आम्दानीको १० प्रतिशत रकम उक्त कोषमा जम्मा गर्न प्रोत्साहित गरिनेछ। कल्याणकारी कोष परिचालन कार्यविधि तीन महिनाभित्र तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।
  6. दुरसञ्‍चार सेवाको गुणस्तर सुधार गरिनेछ। आगामी श्रावण १ गतेदेखि मोवाइल डिभाइस म्यानेज्मेन्ट सिस्टम सञ्‍चालनमा ल्याइनेछ। यसबाट अवैध मोवाइल सेटको प्रयोग नियन्त्रणमा आउनुका साथै मोवाइलको प्रयोग गरी हुने अपराधिक गतिविधि समेत नियन्त्रण हुने विश्‍वास लिएकोछु।
  7. ग्रामीण दुरसञ्‍चार विकास कोष परिचालन गरी सबै स्थानीय तहका केन्द्र, वडा कार्यालय,  स्वास्थ्य संस्था,  सामुदायिक क्याम्पस र माध्यमिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गरिनेछ। आगामी दुई वर्षभित्र देशभर अप्टिकल फाइबर विछ्याई सूचना महामार्ग निर्माण सम्पन्‍न गरिनेछ। सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गरिनेछ। राष्ट्रिय साइवर सुरक्षा अनुगमन केन्द्रको संस्थागत सुदृढीकरण गरी वेभसाइट,  एप्लिकेसन र सर्भरको साइवर सुरक्षा मजबुत तुल्याइनेछ।
  8. सरकारी विज्ञापनमा सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्‍चार माध्यमको न्यायपूर्ण पहुँच सुनिश्‍चित गरिनेछ।
  9. सरकारी निकायबाट प्रदान गरिने सबै प्रकारका सेवालाई नागरिक एप्ससँग अन्तरआवद्ध गरिनेछ।
  10. सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गरिनेछ। गणेश हिमाल क्षेत्रमा चलचित्र छायाङ्कन स्थल बनाउन सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिनेछ। काभ्रेको बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गरिनेछ । उत्कृष्ट चलचित्र निर्माणका लागि स्टोरी बैंकको अवधारणा कार्यान्वयनमा ल्याइनेछ।
  11. हुलाक सेवाको पुनर्संरचना गरी आधुनिक र व्यावसायिक बनाइनेछ। नागरिकता, राहदानी लगायतका महत्वपूर्ण दस्तावेज हुलाक सेवा मार्फत सुरक्षित र छरितोरुपमा नागरिकको घर दैलोसम्म पुर्‍याइनेछ। हुलाक मार्फत इ-कमर्शको विस्तार गर्न सम्भाव्यता अध्ययन गरिनेछ।
  12. पाँचथर, भोजपुर,  सिराहा, पर्वत, दाङ्ग लगायतका विभिन्‍न नौ स्थानमा ट्रान्समिटर थप गरी रेडियो नेपालको पहुँच विस्तार गरिनेछ।
  13. नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्‍ट्रिय स्तरमा पुर्‍याउन एनटिभि वर्ल्ड च्यानल सञ्‍चालनमा ल्याइनेछ।
  14. सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु. ७ अर्ब ७४ करोड विनियोजन गरेको छु ।

बजेटको पूर्णपाठ यहाँ छ:

Budget Speech (Final)
easy care

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

ताजा समाचार