इन्टरनेट उद्योगमा स्व. जालानको योगदान र कार्यहरु स्मरण गर्दै वर्ल्डलिंक कम्युनिकेशन्स

Technology Khabar ३१ बैशाख २०७८, शुक्रबार

इन्टरनेट उद्योगमा स्व. जालानको योगदान र कार्यहरु स्मरण गर्दै वर्ल्डलिंक कम्युनिकेशन्स

काठमाडौं ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका निर्देशक विजय कुमार जालानको बिहीबार (वैशाख ३० गते) निधन भएको छ । उनी काठमाडौंको मेडिसिटी अस्पतालमा पछिल्ला केही दिनदेखि उपचाररत थिए ।

जालान वर्ल्डलिंकका संस्थापकहरूमध्ये एक थिए, जसले इन्टरनेट सेवा प्रदायक यस संस्थालाई तल्लो तहबाट नेपालकै ठूलो आईएसपी बनाउन योगदान दिएका थिए ।

जालानको आकस्मिक निधन वर्ल्डलिंक परिवारका लागि अपूरणीय क्षति हो । वर्ल्डलिंकलाई युगान्तकारी र ग्राहकसेवामा समर्पित संस्थाका रूपमा विकास गर्नमा उनको दूरदृष्टि, मार्गदर्शन र सक्रिय सहभागिताको अहम भूमिका रहँदै आएको थियो, आउँदा दिनमा वर्ल्डलिंक परिवारलाई जसको अभाव अत्यधिक हुनेछ ।

जालान इन्टरनेट सेवा प्रदायक संघ नेपालका वरिष्ठ सल्लाहकार तथा कार्यकारी समिती सदस्यसमेत थिए र नेपालको इन्टरनेट उद्योगको विकास र विस्तारमा उल्लेख्य योगदान गरेका थिए ।

उनी जलेश्वरनाथ विकास समाजका अध्यक्ष थिए साथै लोककल्याणकारी कार्यहरु र सामाजिक सेवाका क्षेत्रमा पनि सुपरिचित थिए । राधेराधे र मानव सेवा आश्रमसँगै कैयौं धर्मशाला, विद्यालय र अन्य सामाजिक संघसंस्थाहरुमा उनी सदैव क्रियाशील थिए।

व्यवसायमा अत्यधिक कुशाग्रता, व्यावहारिक दृष्टिकोण एवं सहयोगी र सदाचारी स्वभावका लागि उनलाई चिन्नेजान्नेहरूलाई उनको ठूलो अभाव महसुस हुनेछ । नेपालले आज आफ्नो एक जुझारु र सफल उद्यमीलाई गुमाएको छ ।

उनका बुवा वुद्धदेव जालान, दाजुहरु अनिल जालान, अरुन जालान, श्रीमती अनुपा जालान र सुपुत्र अश्विन जालानमा परेको यो दुखद परिस्थिति हामी पनि महसुस गर्न सक्छौं । हामी शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै उनको आत्माको चिरशान्तिको कामना गर्दछौं ।

(यो स्मरणपत्र वर्ल्डलिंक कम्युनिकेशन्सले उपलब्ध गराएको हो । -सम्पादक)

easy care

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार