कोरोना संक्रमणसँग जुध्न गोल्छा ग्रुपद्वारा रु १ करोडको सहयोग

Technology Khabar २७ बैशाख २०७८, सोमबार

कोरोना संक्रमणसँग जुध्न गोल्छा ग्रुपद्वारा रु १ करोडको सहयोग

काठमाडौं ।

गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन रु १ करोड सहयोग गरेको छ। गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई रु १ करोड सहयोग हस्तान्तरण गरे ।

कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जिवन रक्षा गर्न सफल भएको थियो। अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकोले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै र अहिले दोश्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने हेतुले गोल्छा ग्रुपले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

गोल्छा ग्रुपद्धारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरुद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरुको संख्या बढाउने लगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उपयोग गर्ने बताएको छ ।

गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘अहिले देश एकदमै विषम परिस्थितिबाट गुज्रिरहेको छ र कोरोनाको यो दोस्रो लहरले हामी सबैलाई एकदमै अफ्ठ्यारोमा पारेको छ । यस महामारीको घडीमा हामीले पाटन अस्पताललाई सहयोग गर्न पाउँदा हामी निकै नै खुसी छौँ । हामीले कोरोनाको पहिलो लहर र लकडाउनको बेलामा पनि अन्य केही संस्थाहरुसँग मिलेर कोरोनाविरुद्ध सहकार्य गरेका थियौँ । हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यको थालनी गरेका छौं र भविष्यमा पनि यस सहकार्यलाई निरन्तरता दिने छौं । यो हाम्रो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत थालिएको स्वास्थ्य क्षेत्र सँगको नयाँ साझेदारी हो।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगलले भने, ‘गोल्छा ग्रुपले हामीलाई यो विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गरेको यो सहयोग अत्यन्तै समय सापेक्ष भएको छ । यो सहयोगले अवश्य पनि हाम्रा फ्रन्टलाइन स्वास्थ्यकर्मीको पनि मनोबल बढाउने छ । निजी क्षेत्रले यस्तो विषम परिस्थितिसँग जुध्न हामीसँग गरेको यो हातेमालोका लागि गोल्छा ग्रुपका अध्यक्ष जो समग्र निजी क्षेत्रकैे नेतृत्व पनि गर्दै हुनुहुन्छ उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

easy care

प्रकाशित: २७ बैशाख २०७८, सोमबार