कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि दूरसञ्चार प्राधिकरणको सम्पूर्ण सेवाहरु अनलाइनबाट

Technology Khabar १५ बैशाख २०७८, बुधबार

कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि दूरसञ्चार प्राधिकरणको सम्पूर्ण सेवाहरु अनलाइनबाट
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि आफ्ना सम्पूर्ण सेवा अनलाइनबाटै प्रदान गर्ने भएको छ ।

प्राधिकरण कार्यालयमा कार्यरत ८ जना भन्दा बढि कर्मचारीमा कोरोना देखिएसँगै प्राधिकरणले आफ्ना सबै सेवाहरु अनलाइन मार्फत दिने भएको हो ।

प्राधिकरणले मंगलबार सूचना जारी गर्दै बैशाख १५ गतेदेखि  अर्को व्यवस्था नभएसम्म सम्पूर्ण सेवा अनलाइनबाटै उपलब्ध हुने जानकारी दिएको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणको सेवा सञ्चालन मार्गदर्शन, २०७७अनुसार वर्क फर्म होम लागू गरेर सेवा दिन लागेको हो ।

‘प्राधिकरणका ८ जनाभन्दा बढी संक्रमित भएको र संक्रमण अझ बढ्न सक्ने भएकोले कोभिड १९ को दोस्रो चरणको संक्रमणलाई समेत मध्यन नजर गरेर महाशाखा प्रमुखले प्राधिकरणको काममा बाधा नपर्ने गरी बैशाख १५ गतेदेखि अर्को व्यवस्था नभएसम्मको लागि वर्क फर्म होमको व्यवस्था मिलाउने,’ जारी सूचनामा भनिएको छ ।

सेवा सञ्चालन मार्गदर्शन, २०७७ अनुसार बढीमा एक तिहाई कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्न सकिने व्यवस्था रहेको छ।

प्राधिकरणमा वर्क फर्म होमबाट काम गर्ने कर्मचारीले घरबाट काम गर्दा अनिवार्यरुपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म अनलाइन बसी अफिस अटोमेशन सिस्टमबाट काम गर्नुपर्ने छ ।

त्यसैगरि वर्क फर्म होमबाट काम गर्ने कर्मचारीले अनिवार्य रुपमा ई(हाजिरी प्रणालीमार्फत आउटिङ अन्तर्गत आ-आफ्नो बिदा स्वीकृत गर्ने अधिकारीमार्फत पूर्व स्वीकृती लिनुपर्ने जनाइएको छ।

सेवा प्रदायकहरुको हकमा भने प्राधिकरणबाट हुने सहजीकरणका काम नियमित रुपमा ईमेलमार्फत पत्राचार गर्दै यथावत हुने प्राधिकरणले जनाएको छ । त्यसका लागि सेवा प्रदायकले [email protected] वा [email protected] मा पत्राचार गर्नुपर्ने उल्लेख छ ।

easy care

प्रकाशित: १५ बैशाख २०७८, बुधबार