बीमा कम्पनीहरुले अब बैशाख मसान्त भित्र आइटी अडिट गरेर प्रतिवेदन बुझाउन सक्ने

Technology Khabar १३ बैशाख २०७८, सोमबार

बीमा कम्पनीहरुले अब बैशाख मसान्त भित्र आइटी अडिट गरेर प्रतिवेदन बुझाउन सक्ने
फाइल फोटो

काठमाडौं ।

बीमा कम्पनीहरुले अब बैशाख मसान्तिभत्रमा सूचना प्रविधि प्रणालीको परीक्षण (आइटी अडिट) गरेर नियामकलाई बुझाउन सक्ने भएका छन् ।

बीमा क्षेत्रको नियामक निकायले हालै आइटी अडिटको प्रतिवेदन बुझाउने समय थप गरेसँगै कम्पनीहरुलाई थप समय मिलेको हो ।

यसअघि चैत मसान्तसम्ममा आइटी अडिट गरेर प्रतिवेदन बुझाउन भनिएकोमा सो समयमा अधिकांश कम्पनीले प्रतिवेदन नबुझाएपछि बीमा समितिले बैशाख मसान्तसम्म समय थप गरेको हो ।

समितिका सूचना प्रविधि अधिकृत मिलनराज नेपालीले सबै कम्पनीहरुलाई सहजरुपमा आइटी अडिट गरेर प्रतिवेदन बुझाउनका लागि समय थप गरेको जानकारी दिए ।

‘बीमा कम्पनीहरुले पहिलो पटक आइटी अडिट गर्न लागेका र अझैपनि यस बिषयमा कन्फ्यूज भएको भन्दै चैत मसान्तसम्ममा बुझाएका थिएनन् । अब बैशाखभित्र सबैले बुझाउनुपर्नेछ,’ उनले भने ।

उनकाअनुसार कतिपय बीमा कम्पनीहरुले भने कोभिड-१९ को कारण समयमा गर्न नसकिएको जानकारी दिएका छन् भने कतिपय कम्पनीहरुले आइटी अडिट गर्ने कम्पनीहरुको बारेमा थप स्पष्ट पार्न माग समेत गरेका थिए ।

यसअघि कोरोना भाइरस संक्रमणका कारण कठिन पस्थिति भएको भन्दै समितिले आव २०७६/०७७ मा गरिएको आइटी अडिट रिपोर्ट बुझाउने समय चैत १५ गतेसम्म तोकेको थियो ।

सो अवधिमा केहि सिमित कम्पनीहरुले मात्र आइटी अडिट रिपोर्ट बुझाएका थिए।

समितिद्धारा जारी बीमकको सूचना प्रविधि मार्गदर्शन अनुसार सञ्चालनमा रहेका ४० वटै बीमा कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आइटी अडिटको प्रतिवेदन बीमा समितिमा पेश गर्नुपर्ने हुन्छ।

सोही मार्गदर्शनको आधारमा समितिले  बीमा कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र सूचना प्रविधिको अडिट गरी सोको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

हाल नेपालमा ४० वटा बीमा कम्पनीले बीमा सम्बन्धी कारोबार गर्दै आएका छन् ।

easy care

प्रकाशित: १३ बैशाख २०७८, सोमबार

ताजा समाचार