नेपाल विद्युत प्राधिकरणले दोब्बर बढायो अप्टिकल फाइबरको भाडा दर

Technology Khabar १ माघ २०७७, बिहीबार

नेपाल विद्युत प्राधिकरणले दोब्बर बढायो अप्टिकल फाइबरको भाडा दर

काठमाडौं ।

आफ्नो स्मार्ट मिटरको लागि सरकारसँग निशुल्क फ्रिक्वेन्सी दिनुपर्ने माग र दाबी गर्दै आएको नेपाल विद्युत प्राधिकरणले माघ ३ गतेदेखि लागू हुने गरेर दोब्बर भन्दा बढि दरले अप्टिकल फाइबरको भाडा दर वृद्धि गरेको छ ।

प्राधिकरणले आफ्नो ३३ र ६६ केभीको प्रशारण लाइनमा जडित अप्टिकल फाइबरको भाडा दरमा दोब्बर भन्दा बढि दरले भाडा बढाउँदै सो बढेको भाडा दर तिर्नका लागि सबै इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र काटेको छ ।

विद्युत प्राधिकरणले मंगलबार १४ वटा दूरसञ्चार सेवा प्रदायक तथा केबल टिभी प्रदायक कम्पनीहरुलाई पत्र पठाउँदै आफ्नो अप्टिकल भाडा दरमा बढेको रकमअनुसार नै भाडा तिर्न भनेको हो ।

विद्युत प्राधिकरणको पत्रअनुसार ३३ केभि वा सो भन्दा मुनीको प्रशारण लाइन र ६६ केभी वा सो भन्दा माथिका प्रशारण लाइनमा राखिएका अप्टिकल फाइबरको भाडा दरमा उच्च वृद्धि गरेको हो ।

नयाँ वृद्धि भएको भाडा दरअनुसार ६६ केभीको लागि प्रति किलोमिटर प्रति वर्ष ३२ हजार रुपैयाँ अप्टिकल फाइबर प्रयोगकर्ता कम्पनीहरुले तिर्नुपर्नेछ । त्यसैगरि ३३ केभीको लागि प्रति किलोमिटर प्रति वर्ष ३० हजार रुपैयाँ अप्टिकल फाइबर प्रयोगकर्ता कम्पनीहरुले तिर्नुपर्नेछ ।

यसअघि यस्तो भाडादर ६६ केभीमा १६ हजार ४०० रुपैयाँ मात्र थियो भने ३३ केभीमा १४ हजार ४ सय रुपैयाँमा १० प्रतिशत छुट दिईँदै आएको थियो।

इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधिर पराजुलीले यो भाडादर निकै महंगो भएको र करोडौं रुपैयाँको थप भार पर्नेगरि तोकिएको बताए ।

‘यसले आगामी दिनमा इन्टरनेट सेवालाई नै महंगो बनाउनेछ, किनकी यसले हाम्रो लागत खर्च नै दोब्बर भन्दा धेरैले बढाउनेछ, जसले प्रधानमन्त्रीको डिजिटल नेपालको अभियानमा नै धक्का पुग्नेछ,’अध्यक्ष पराजुलीले भने ।

उनले यसअघि सरकारले गठन गरेको समितिले मूल्यवृद्धिको आधारमा भाडा बढाउन सुझाब दिएको भएपनि त्यो उचित नभएको भन्दै प्राधिकरणले १५ वर्षदेखि नै लागत भन्दा धेरै रकम उठाईसकेर नाफाको व्यापार गरिरहेको आरोप लगाए ।

‘यसले सरकारको डिजिटल नेपालको अभियानलाई नै असर पर्नेछ भने हाम्रो लागत खर्च बढेसँगै उपभोक्ताको इन्टरनेटको शुल्क समेत बढ्न सक्नेछ,’ उनले भने ।

यसले आगामी दिनमा उपभोक्ताहरुलाई समेत असर पर्ने हुँदा आफूहरुले विरोध गर्दै आएको बताए ।

अर्का एक सेवा प्रदायकले भने यस्तो रकम बढ्दा ब्याकबोनको रुपमा इन्टरनेट सेवाको बिस्तार गर्न कठिन हुने दाबी गरे ।

‘अब कम्पनीहरुले धेरै नाफा हुने स्थानमा मात्र सेवा बिस्तार गर्नुपर्छ । र ग्रामिण तथा लामो दूरीमा अप्टिकल फाइबर राख्न कठिन हुने छ,’ उनले भने ।

आफूलाई निशुल्क फ्रिक्वेन्सी देउ भनेर सरकारसँग माग गर्ने अनि अर्कोतर्फ इन्टरनेट सेवाको लागि प्रयोग हुने अप्टिकल फाइबरको भाडा बढाउने द्वैध चरित्र विद्युत प्राधिकरणले देखाएको उनले बताए ।

प्राधिकरणकाअनुसार नयाँ भाडादर यहि माघ ३ गतेदेखि लागू हुनेछ र सोहि अनुसार मात्र नयाँ सम्झौता हुनेछ ।

easy care

प्रकाशित: १ माघ २०७७, बिहीबार

ताजा समाचार