Technology Khabar २८ पुष २०७७, मंगलवार
अन्तर्राष्ट्रिय बजारमा निकासीको राम्रो सम्भावना रहेको नेपाली चिया प्रवर्धनका लागि पछिल्लो समय थुप्रै प्रयास हुन थालेको छ ।
विदेशी बजारमा निकासी हुने चियालाई विभिन्न बहानामा गुणस्तरहीन भन्दै बिक्री नहुने समस्या सुल्झाउन चिया तथा कफी विकास बोर्डले पछिल्लो पटक नयाँ प्रविधिको प्रयोग सुरु गर्ने तयारी गरेको छ ।
आगामी माघदेखि सुरु गर्न लागिएको नयाँ प्रविधिमा चियाको बोटदेखि बजारीकरणसम्मको व्यवस्था जोडिने चिया तथा कफी विकास बोर्डले जनाएको छ । नयाँ प्रविधिमा एउटा सफ्टवेयर जडान गरी त्यसबाट विदेशी बजारमा पुगेको चिया कुन बगान, कुन उद्योगबाट कुन कन्टेनरमार्फत त्यो बजारमा पुगेको हो भन्ने सजिलै पत्ता लगाइने बोर्डका कार्यकारी निर्देशक डा. विष्णुकुमार भट्टराईले बताए ।
‘यसअघि नेपालबाट निकासी भएको चियामध्ये थोरै परिमाणमा गुणस्तर कम भएको पाइए पनि नेपालको सबै चिया दोषी देखिन्थ्यो । अब हामी मार्केटिङको ट्रेसाब्लिटी सिस्टममा नेपाली चियालाई लाँदैछौँ । यसले जुन चिया कमसल छ, त्यसको पहिचान गर्न मद्दत गर्छ, बाँकी सम्पूर्ण नेपाली चिया बिक्रीयोग्य मानिनेछ । ’ उनले भने ।
बोर्डले यो प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा चिया पठाउन यसअघि लोगो प्राप्त गरेका उद्योगबाट सुरुवात गर्ने जनाएको छ ।
बोर्डले पहिलो चरणमा इलामका नौ, तेह्रथुमका दुई र सङ्खुवासभाको एक गरी १२ वटा चिया उद्योगलाई लोगो प्रदान गरेको थियो । पहिलो चरणमा लोगो प्राप्त गर्ने इलामकै उद्योगबाट नयाँ प्रविधि सुरु गर्ने तयारी भएको जनाइएको छ । प्रविधि प्रयोगका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय भइरहेको बताइएको छ । यो प्रविधि प्रयोगमा आएपछि त्यसको प्रत्यक्ष फाइदा किसानलाई पुग्ने अपेक्षा लिइएको कार्यकारी निर्देशक भट्टराई बताए ।
‘चिया क्षेत्रका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले म बोर्डमा आएँ । परिणाममुखी कार्यक्रम ल्याउँछु भन्ने दृढता थियो । ’ निर्देशक भट्टराईले भने ‘ट्रेडमार्क कार्यान्वयन, चिया परीक्षण तथा प्रवद्र्धन केन्द्रको स्थापनाको काम भएको छ, अब यो अर्को नयाँ कामका रूपमा लिएको छु । ’
भट्टराईले नेपाली चिया कुन–कुन देशमा जान्छ र अन्य कहाँ पठाउन सकिन्छ भन्ने अध्ययन पनि बोर्डले गरिरहेको बताए । अहिलेसम्म जर्मनी, रसियासहित युरोपेली मुलुकहरूमा नेपाली चिया जाने गरेको छ ।
नेपालमा विसं १९२० मा रोप्न थालिएको चिया इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमसहित १४ जिल्लामा ५९ प्रतिशत किसानले आठ हजार ८३८ हेक्टरमा चिया खेती गर्दै आएको चिया तथा कफी विकास बोर्डको तथ्याङ्क छ । गोरखापत्रबाट
प्रकाशित: २८ पुष २०७७, मंगलवार