चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण

Technology Khabar ३ कार्तिक २०७७, सोमबार

चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण
फाइल तस्बिर

काठमाडौं ।

विद्युतीय बस चार्जिङ स्टेसनको विद्युत् महसुल र सवारी चार्ज गरेबापतको महसुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले असोजदेखि नै लागू हुनेगरी विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई महसुलबारे पत्राचार गरेको छ ।

विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई प्राधिकरणले कार्यान्वयन गरेको हो ।

निर्धारण गरिएको महसुलअनुसार विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट चार रुपियाँ ६० पैसा तिर्नुपर्नेछ । स्टेसनले यसअघि प्रतियुनिट १० रुपियाँ तिर्दै आएका थिए । चार्जिङ स्टेसनले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट चार रुपियाँ ६० पैसाको थप २० प्रतिशत शुल्क लिएर सवारी चार्ज सुविधा दिन पाउने भएका छन् ।

सरकारले विद्युतीय चार्जिङ स्टेसनको विद्युत् तथा चार्ज शुल्क निर्धारण नगर्दा चार्जिङ स्टेसन समस्यामा परेका थिए । उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले आफ्नो चार्जिङ स्टेसन भए पनि महँगो शुल्क तिर्न परेकामा अब भने निकै सजिलो भएको अध्यक्ष भेषबहादुर थापाले बताए।

उनले भने, “शुल्क निर्धारण भएर नेपाल विद्युत् प्राधिकरणले लागू गरेको छ । हामी निकै खुसी छौँ, अब सजिलो भएको छ । यो हाम्रा लागि धेरै राम्रो सुविधा हो । ”

निर्धारित शुल्कअनुसार अब ठूला बस पूर्ण चार्ज गर्दा पाँच सयदेखि ५५० रुपियाँ पर्नेछ । पहिला १२ सय रुपियाँसम्म तिर्नुपर्थ्याे । अध्यक्ष थापाका अनुसार एकपटक पूर्ण चार्ज भएका बस कम्तीमा २५० किलोमिटर गुड्छन् । काठमाडौँ उपत्यकामा गुड्ने बस एकपटक पूर्ण चार्ज गरेपछि दुई दिनसम्म सञ्चालन हुन्छन् ।

निजी विद्युतीय कार पनि घरमा चार्ज गर्नुभन्दा चार्जिङ स्टेसनमै गर्दा सस्तो पर्ने सुन्दर यातायातले जनाएको छ । घरमा चार्ज गर्दा प्रतियुनिट आठदेखि १० रुपियाँसम्म विद्युत् शुल्क तिनुपर्ने हुन्छ तर स्टेसनमा गर्यो भने प्रतियुनिट छ रुपियाँ पर्न जान्छ ।आजको गोरखापत्रबाट

easy care

प्रकाशित: ३ कार्तिक २०७७, सोमबार