ओटीटी र मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग

Technology Khabar ८ आश्विन २०७७, बिहीबार

ओटीटी र मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग

काठमाडौं ।

ओटीटी र मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन केबल टिभी संचालकहरुले माग गरेका छन्।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले सरकारलाई ज्ञापनपत्र बुझाउँदै ओटीटी र मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेको हो।

महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटी र मोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन् ।

नेपालमा ओटीटी र मोबाइल एप्स मार्फत प्रभु टिभी, भायो टिभी र नेट टिभीलगायतले टेलिभिजन प्रसारण गर्दै आएका छन् ।

गत सोमबार संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गते भित्रमा विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलहरुमा विज्ञापन रहित नीति (क्लिन फिड) लागू गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको थियो ।

केवल टेलिभिजन व्यवसायीहरुले क्लिन फिड लागू हुनुअगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटी र मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हुन् । उनीहरुले ओटीटी र मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण लाइसेन्स बिना नै सञ्चालन भईरहेको भन्दै त्यसलाई बन्द गराउनुपर्ने माग गरेका हुन् ।

नेपालमा गैरकानूनी रुपमा विदेशी तथा स्वदेशी ओटीटी र मोबाइल एप्समार्फत भएका प्रसारणले अमर्यादित व्यापार गर्नुका साथै सरकारलाई अर्बौंको राजश्व छली गरिरहेको केबल व्यवसायीहरुले दाबी गरेका छन् । त्यस्ता प्रसारणलाई क्लिन फिड लागू हुनु अगाडि नै बन्द गराउन व्यवसायीहरुले माग गरेका हुन् ।

यस्तै खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय डिटिएच टेलिभिजन च्यानलहरुले नेपालमा व्यापार गरिरहेको प्रति पनि व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् ।

easy care

प्रकाशित: ८ आश्विन २०७७, बिहीबार