कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर नेटवर्क बनाउन सम्झौता, २ वर्ष भित्र पुरा गरिने

Technology Khabar १८ पुष २०७६, शुक्रबार

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर नेटवर्क बनाउन सम्झौता, २ वर्ष भित्र पुरा गरिने
नेपाल दूरसंचार प्राधिकरण र नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम) बिच कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर नेटवर्क बिस्तारका लागि सम्झौता हुँदै ।

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण र नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम) बिच कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशखण्ड अन्तरगत अप्टिकल फाइबर नेटवर्क बिस्तारका लागि सम्झौता भएको छ ।

सूचना महामार्ग निर्माण अन्तरगत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिका जोड्ने गरी अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल तथा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबिच सम्झौता पत्र आदानप्रदान भएको छ ।

कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यो नेटवर्क बिस्तारपछि सरकारको डिजिटल नेपालको फ्रेमवर्कका लागि आधार हुने बताए ।

‘उच्च गतिको इन्टरनेट, पूर्वाधारमा डुप्लिकेसन नहोस र लागत वृद्धि नहोस भन्ने उद्देश्यसहित हुन लागेको आयोजना टाइममा टेलिकमले सम्पन्न गर्ने विश्वास गर्दछु,’ अध्यक्ष खनालले भने ।

उनले बढि टुक्रा गरेर भएपनि त्यसलाई टाइममा नै सक्नुपर्ने सुझाव दिए र प्राधिकरणले आउने कठिनाई हटाउन सहयोग गर्ने बताए ।

त्यसैगरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले सो क्षेत्रमा दूरसंचार पूर्वाधार पुरा गर्न तोकिएको समयमा र तोकिएको मापदण्डमा नै पुरा गर्ने बताए ।

‘दोहोरो लगानीलाई हटाउने गरि अन्य सेवा प्रदायक कम्पनीहरुलाई पनि पूर्वाधार साझेदारी गर्नेगरि उपलब्ध गराउनेछौं,’ प्रबन्ध निर्देशक अधिकारीले भने ।

प्रबन्ध निर्देशक अधिकारीका अनुसार यसलाई उच्चस्तरको विश्वसनिय बनाउन नेटवर्कमा केहि परिवर्तन समेत गरिएको जानकारी दिए । उनले समयसीमा भित्र नै आयोजना पुरा गर्ने प्रयास गरिने बताए ।

गत मंसिर १९ गते भएको सहमतिअनुसार हाल दुबैपक्षबिच २० जिल्लामा फाइबर नेटवर्क बिस्तार गर्ने सम्झौता गरिएको हो । उक्त दुई प्रदेशबाहेक बाँके र बर्दिया जिल्लामा समेत नेटवर्क बिस्तार हुनेछ ।

३ अर्ब ८१ लाख रुपैयामा नबढ्ने गरि नेपाल टेलिकमले टेण्डरमार्फत प्रतिस्पर्धा गराएर सो नेटवर्क निर्माण गर्नेछ भने यसको खर्च प्राधिकरणले ग्रामीण दूरसंचार विकास कोषबाट बेहोरीनेछ ।

सो आयोजना अन्तरगत करिब २४ सय किलोमिटरमा अण्डरग्राउण्ड, एडिएसएस फाइबर तथा डाइरेक्ट बुरेड केबल बिस्तार गरिनेछ भने विभिन्न साइटहरुमा डिडब्लूडिएम, राउटर तथा माइक्रोवेभ संचालन गरी सेवा बिस्तार गरिनेछ ।

भ्वाइस र डाटामा हुनसक्ने मागलाई मध्यनजर गरेर आवश्यकताअनुसार ४००जी क्षमतासम्म अभिवृद्धि गर्न सकिने गरि १००जी र १०० जी वा मल्टिपल अफ १०जी क्षमतासम्म अभिवृद्धि गर्न सकिने १०जी क्षमताका कोर राउटर प्रयोग हुने जानकारी दिईयो ।

यो नेटवर्क बिस्तारपछि डिजिटल नेपालको लागि मेरुदण्डको रुपमा सूचना महामार्ग निर्माण हुने अपेक्षा गरिएको छ ।

यो नेटवर्कअन्तरगत कम्तिमा ९६ कोरको अप्टिकल फाइबर नेटवर्क हुने र जिल्ला तथा सदरमुकाम र नगरपालिकासम्म क्रमशः ४८ र २४ कोरको केबल राखिनेछ ।

टेलिकमले यो आयोजना सम्झौता गरेको २ वर्षभित्र पुरा गर्ने बताईएको छ ।

easy care

प्रकाशित: १८ पुष २०७६, शुक्रबार