एनसेलको फोरजी सेवा अब थप १० शहरमा बिस्तार

Technology Khabar १७ श्रावण २०७४, मंगलवार

एनसेलको फोरजी सेवा अब थप १० शहरमा बिस्तार

काठमाडौं ।

काठमाडौं । एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन सेवा थप १० शहरमा विस्तार गरेको छ । कम्पनीले यी शहरहरुमा आज मंगलबार (साउन १७) देखि फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ ।

यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि मंगलबार देखि द्रुत गतिको मोवाइल ब्रोडब्याण्ड सेवाको अनुभव लिन सक्नेछन् ।
‘‘थप १० शहरमा एनसेलको फोरजी सेवा विस्तार भएको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौं । फोरजी सेवालाई द्रुत गतिमा विस्तार गर्दै धेरै भन्दा धेरै ग्राहकलाई नयाँ प्रविधि तथा अवसरको लाभ प्रदान गर्न एनसेल प्रतिबद्घ छ भन्ने स्पष्ट उदाहरण हो । १० वटा शहरमा भएको यो सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा अब १५.०६ प्रतिशत जनसंख्यामा पुगेको छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

एनसेलको फोरजी सेवा यसअघिदेखि नै काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा उपलब्ध छ । पछिल्लो सेवा विस्तार सँगै एनसेलको फोरजी सेवा देशका विभिन्न भागमा रहेका १७ शहरमा पुगेको छ ।

साथै थप १० वटा शहरमा एकै साथ फोरजी सेवा सञ्चालनमा आएको अवसरमा एनसेलले यी शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ ।

कसरी लिने सेवा

ग्राहकले एस्ट्रिक्स३२४ह्यास (*324#) डायल गरी एनसेलको फोरजी सेवाका साथ ३० दिन सम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहत डिजीटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढि नेपाली  गीतसंगीतहरु पनि छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने बारेमा जानकारी लिन सक्नेछन् ।

एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा फोरजी सेवा विस्तार गर्दै ग्राहकलाई द्रुत गतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने लक्ष्य लिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरीरहेको कम्पनीले जानकारी दियो ।

फोरजी/एलटिई सेवाको सुरुवात सँगसँगै एनसेलले ग्राहकलाई आकर्षक साप्ताहिक कम्बो प्याक प्रदान गर्दै आएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता बमोजिम १५० रुपैयाँ, ३०० रुपैयाँ र ५०० रुपैयाँको प्याक खरिद गरी आकर्षक डेटा, टक टाइम र एसएमएसको मजा लिन सक्ने एनसेलले जनाएको छ ।

 

easy care

प्रकाशित: १७ श्रावण २०७४, मंगलवार

ताजा समाचार