सगुन डटकमले क्राउडफण्डिंग गर्दै, ५ लाख डलर लगानीको अपेक्षा

Technology Khabar १६ असार २०७३, बिहीबार

सगुन डटकमले क्राउडफण्डिंग गर्दै, ५ लाख डलर लगानीको अपेक्षा

काठमाडौं ।

काठमाडौं, १६ असार । सामाजिक संजाल सगुन डटकमले लगानीकर्ताका लागी आव्हान गरेको छ । सगुनले बुधवार पत्रकार सम्मेलन गर्दै नयाँ लगानीकर्ताहरुका लागि क्राउडफण्डिंगमार्फत आव्हान गरेको जानकारी दिएको छ ।

नेपालीको लगानीमा स्थापना भएको सामाजिक संजाल सगुनले इक्विटी क्राउडफण्डिंग बैंकरोलमार्फत न्यूनतम ५ हजार अमेरिकी डलर लगानी खुला गरेको हो । कम्पनीले क्राउडफण्डिंगबाट कम्तिमा ५ लाख अमेरिकी डलर लगानी उठाउने अपेक्षा गरेको छ ।

सगुनले १८ लाख अमेरिकी डलर लगानी उठाउने अनुमति पाएपनि हाल ५ लाख डलर मात्रै उठाउने जानकारी दिईयो । पहिलो चरणको लगानीकर्ता जुटेपछि मात्र कम्पनीले दोस्रो चरणमा अमेरिकी स्टक एक्सचेन्जमा मिनी आईपिओ जारी गर्ने बताएको छ । कम्पनीले विदेशमा रहेका नेपालीहरु तथा गैर आवासीय नेपालीहरुलाई पनि लगानीका लागी आव्हान गरेको छ ।

कम्पनीले हाल अन्तराष्ट्रिय बजारमा १ करोड ५० लाख अमेरिकी डलर सगुनको मूल्यांकन भएको र हाल यसको शेयर मूल्य ३.७५ अमेरिकी डलर पुगेको दाबी गरेको छ ।

सगुनले यहि वर्षको अन्त्यसम्म प्रयोगकर्ताहरुका लागि सोसियल स्मार्ट कार्ड दिने भएको छ । सगुनमा प्रोफाईल बनाउँदा र सगुनमा आबद्ध भएपछि सगुन प्रयोगकर्ताहरुले निशुल्क रुपमा स्मार्ट कार्ड प्राप्त गर्नसक्ने बताईएको छ । उक्त स्मार्टकार्ड पाएपछि सगुनमा खाता भएका प्रयोगकर्ताहरुले गिफ्ट कार्डको रुपमा प्रयोग गर्न सक्नेछन् । उक्त स्मार्ट कार्ड प्रयोगकर्ताहरुले किनेको वस्तुमा ५ प्रतिशत रकम फिर्ता पाउन सक्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १६ असार २०७३, बिहीबार